सुर्खेत– नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानी विद्यार्थीकालदेखिकै साथी र प्रतिस्पर्धी दुवै हुन् । सहपाठी, एकै ठाउँका साथी र राजनीतिक यात्रामा परस्परका प्रतिस्पर्धी ।
उनीहरुको प्रतिस्पर्धा स्ववियुदेखि संविधानसभा निर्वाचनसम्म जारी रह्यो । तर, ३४ वर्षपछि उक्त प्रतिस्पर्धामा पूर्णविराम लागेको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमार्फत उनीहरुको तीन दशकदेखि हुँदै आएको प्रतिस्पर्धामा तत्कालका लागि पूर्णविराम लागेको हो।
यस पटक थानी सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्दैछन् भने कँडेल क्षेत्र नम्बर २ को (ख)बाट प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा छन्।
स्ववियु सभापतिदेखि संविधानसभा निर्वाचनसम्म
कँडेल र थानीबीचको प्रतिस्पर्धा ०४० सालदेखिको हो, जतिबेला उनीहरु दुवै शंकरदेव क्याम्पस काठमाडौंको स्ववियु सभापतिको उम्मेदवार भएका थिए । त्यसबेला कँडेललाई पराजित गर्दै थानी विजयी भएका थिए । त्यसपछि संविधानसभा निर्वाचन ०७० सम्म आउँदा उनीहरु हरेक पटक प्रतिस्पर्धी भए । जसमा तीन पटक थानी र दुई पटक कँडेलले बाजी मारे।
दुवै नेता विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् । सुर्खेतबाट राष्ट्रिय राजनीतिमा स्थापित दुवै नेताको प्रतिस्पर्धा रोचक छ।
शंकरदेवको स्ववियु सभापतिमा प्रतिस्पर्धा गरेपछि उनीहरु ०५१ को मध्यावधि निर्वाचनमा पुनः एकअर्काको प्रतिद्वन्द्वी बने । थानी नेपाली कांग्रेसबाट र कँडेल नेकपा एमालेबाट सुर्खेत क्षेत्र नम्बर २ को उम्मेदवार बने । यस पटक भने कँडेलले बाजी मारे । थानीलाई कँडेलले १२९२ मतको अन्तरले पराजित गरेका थिए । कँडेलले शंकरदेवमा थानीसँग पराजित भएको बदला उक्त निर्वाचनमा फेरे।
उनीहरुको प्रतिस्पर्धा त्यत्तिमै सीमित भएन । राजनीतिमा जम्दै गएका दुवै नेता पुनः ०५६ को संसदीय निर्वाचनमा पनि परस्परको प्रतिस्पर्धी हुँदै निर्वाचन लडे । अघिल्लो पटक पराजय बेहोरोको पाँच वर्षमै थानीले कँडेललाई पराजित गरे । यद्यपि यो निर्वाचनमा थानीका निकटतम प्रतिद्वन्द्वी कँडेल नभएर एमालेका शिवप्रसाद उपाध्याय थिए । एमाले पार्टी विभाजन हुँदा कँडेल नेकपा मालेतिर लाग्दै सो दलबाट उम्मेदवार बनेका थिए । एमाले विभाजनको फाइदा थानीले लिए।
त्यसपछि थानी र कँडेलको प्रतिस्पर्धा हुन ८ वर्ष कुर्नुपर्यो । ०६४ को संविधानसभा निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका कँडेलले थानीलाई १६०४ मतान्तरले पराजित गर्दै प्रतिस्पर्धामा आफूलाई बलियो साबित गरे । १६ हजार २ सय ९७ मत प्राप्त गरेर कँडेलले जित हात पार्दा दोस्रो स्थानमा रहेका थानीले १४ हजार ६ सय ९३ मत प्राप्त गरे । यो नतिजासँगै कँडेल र थानीबीच भएको चौथो प्रतिस्पर्धासम्म आइपुग्दा दुवैले दुई पटक जित र दुई पटक नै हारको नतिजा निकाले।
पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि ०७० मा दोस्रो पटक संविधानसभा निर्वाचन हुँदा पनि कांग्रेसबाट थानी र एमालेबाट कँडेल नै उम्मेदवार बने । तर, कँडेल विरुद्ध एमालेकै शिवप्रसाद उपाध्याय बागी उम्मेदवार बने । जसको प्रत्यक्ष फाइदा कांग्रेसका थानीलाई भयो । कँडेलसँग पराजय बेहोरेको ६ वर्षपछि त्यसको बदला लिँदै ८ हजार ३ सय १ मतको अन्तरले थानी विजयी हुन पुगे । कँडेलले ९ हजार १ सय १८ मत ल्याउँदा बागी उम्मेदवार बनेका उपाध्यायले ४ हजार ५ सय ६४ मत प्राप्त गरेका थिए । अघिल्लो पटक जस्तै त्यस बेला पनि एमालेको अन्तरविवादको फाइदा लिँदै थानी दोस्रो पटक सांसद निर्वाचित भए । सोही विजयपछि उनी पहिलो पटक सहकारी तथा गरिबी निवारणमन्त्री समेत बने।
कँडेल र थानी स्ववियु सभापतिदेखि संविधासभा सदस्य निर्वाचनसम्म आइपुग्दा पाँच पटक आमनेसामने भए । जसमा थानी ३ पटक र कँडेल २ पटक विजयी भए । पार्टी राजनीतिमा आइसकेपछिको संसदीय र संविधानसभा निर्वाचनको परिणामलाई मात्र हेर्ने हो भने दुवैको जित–हार बराबर भएको छ । ०५१ र ०६४ मा कँडेलले बाजी मारे भने ०५६ र ०७० मा थानीले जिते।
यी दुवै नेताबीचको तीन दशकभन्दा लामो प्रतिस्पर्धा हाललाई भने यतिमै सीमित हुन पुगेको छ । थानी प्रतिनिधिसभाको उम्मेदवार बन्दा कँडेल प्रदेश नम्बर ६ को मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभा सदस्यका लागि निर्वाचन लड्दै छन् । यी दुई नेताबीचको चुनावी प्रतिस्पर्धा यतिमै टुंगिएको हो या आगामी दिनमा पुनः जारी रहने हो, यसलाई सुर्खेतवासीले निकै चासोका साथ हेरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।