काठमाडौं– तामझामका साथ एमाले प्रवेश गरेकी कोमल ओलीले मनोनयन दर्ताका दिन सोही पार्टीका आाधिकारीक उम्मेदवार विरुद्धै वागी दर्ता गराइन्। तीन महिनादेखि निर्वाचनको प्रचारमा खटिएको तर पार्टीले टिकट नदिएको भनी उनले दर्ता गरेको वागी उम्मेदवारी तीन दिन पनि टिकेन। आइतबार उनले उम्मेदवारी फिर्ता लिइन्।
पार्टीले आफूहरुलाई अवमुल्यन गरेको भन्दै नेपालविरुद्ध काठमाडौं २ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिए पनि पार्टीको निर्देशनपछि एलपी श्रेष्ठले फिर्ता लिए। आइतबार बिहान नेपाल निवास कोटेश्वरमा भएको झण्डै दुई घण्टा लामो छलफलपछि श्रेष्ठ उम्मेदवारी फिर्ता गर्न सहमत भएका हुन्।
उदयपुर २ मा प्रतिनिधिसभामा वागी उम्मेदवार दर्ता गराएका एमालेका नेता जगन्नाथ खतिवडा पनि उम्मेदवारको दौडबाट बाहिरिए। वाम गठवन्धनका तर्फबाट उक्त क्षेत्र माओवादीका हिमाल किराँतीलाई उम्मेदवार बनाइएको थियो।
राजपाका महासचिव मनिष सुमनविरुद्व वागी दिएका लक्ष्मण यादवले पनि फिर्ता लिएका छन्। सुमन सप्तरी २ को प्रदेशसभा (ख)बाट उम्मेदवार बनेका थिए। उनी विरुद्ध यादवले दर्ता गराए पनि पार्टीसँगको छलफलपछि उनले फिर्ता लिएका हुन्।
कैलाली क्षेत्र नम्बर ५ मा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा विरुद्ध वागी उम्मेदवारी दिएका नेविसंघ नेता क्षितिज भण्डारीले उम्मेदवारी फिर्ता लिएका छन्। प्रधानमन्त्री देउवाले आग्रह गरेपछि उनले फिर्ता लिएका हुन्। त्यस्तै राप्रपाका दीपक मल्ल र नयाँ शक्तिका निर्प बोहोराले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
काभ्रेमा पनि नेपाली काँग्रेसका उम्मेदवार विरुद्ध बागी दर्ता गराएका राप्रपा र राप्रपा प्रजातान्त्रिकका उम्मेदवारहरुले फिर्ता लिएका छन्। राप्रपाका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेशसभा क्षेत्र नम्बर १ मा गणेशबहादुर श्रेष्ठ, प्रदेशसभा क्षेत्र नं २ मा टुल्कु लामा, प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गतको प्रदेशसभा क्षेत्र नम्बर १ मा कृष्णवीर लामा र प्रदेशसभा क्षेत्र नं २ मा कृष्णगोपाल पाण्डेले उम्मेदवारी दिएका थिए। राप्रपा (प्रजातान्त्रिक)को तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा वीरबहादुर योञ्जन र प्रतिनिधिसभा क्षेत्र नं २ मा रोहित बादेले उम्मेदवारी दिएका थिए। निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो १ उम्मेदवारी फिर्ताका लागि समय दिएको थियो।
ठाकुर र यादवका वागी फिर्ता भएनन्
राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुरदेखि संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध समेत आफ्नै कार्यकर्ताले दर्ता गराएको वागी उम्मेदवारी फिर्ता लिन माग गरे पनि उनीहरुले अस्वीकार गर्दै आएका छन्।
महोत्तरी ४ बाट उम्मेदवार भएका महन्थ ठाकुर विरुद्ध उनकै नेता चन्देश्वर झाले उम्मेदवारी दिएका छन् भने उपेन्द्र यादव विरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरेले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरुलाई उम्मेदवारी फिर्ता नलिए पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने चेतावनी दिए पनि उनीहरुले फिर्ता लिन अस्वीकार गर्दै आएका राजपाका एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।