काठमाडौं– काठमाडौं क्षेत्र नम्वर ३ (ख) बाट प्रदेशसभाका उम्मेदवार भएका पूर्व सांसद रामेश्वर फुयाँललाई एकै परिवारका दुई पुस्ताका उम्मेदवारसँग चुनावी प्रतिस्पर्धा गर्ने रोचक संयोग जुरेको छ।
नेकपा एमालेका नेता फुयाँलले ०६४ र ०७० को दुवै संविधानसभाको चुनावमा नेपाली कांग्रेसका चक्रप्रसाद ठकुरीसँग चुनाव लडेका थिए। ०६४ मा उनी पराजित भए, ०७० मा विजयी। पूर्व सांसद ठकुरीको भने निधन भइसकेको छ। उनको २०७२ सालको भूकम्पमा निधन भएको हो।
बाबु ठकुरीसँग दुई पटक सभासद बन्नका लागि प्रतिस्पर्धा गरेका फुयाँलले यस पटक उनैका छोरा विमल ठकुरीसँग प्रदेशसभाका लागि प्रतिस्पर्धा गर्दै छन्।
फुयाँल आसन्न निर्वाचनको प्रचारमा क्रममा छन्। नियमित प्रतिस्पर्धा गरिरहेको क्षेत्रमा उनले पार्टीका जिल्ला अध्यक्ष कृष्ण राईलाई सुम्पेर प्रदेशमा झरेपछि दोस्रो पुस्ताका ठकुरीलाई प्रतिस्पर्धी पाएका हुन्। बाबु ठकुरीको निधनपछि उनको स्थानको राजनीति सम्हाल्ने अठोटका साथ छोरा ठकुरी राजनीतिमा आएका हुन्।
फुयाँलले बाबु र छोरासँग निर्वाचन लड्ने दुर्लभ अवसर पाएका छन्। यस क्षेत्रको परिणामको अनुमान गर्न कठिन भएता पनि यस क्षेत्रमा चुनावी दौड र अभियान रोचक हुने अनुमान भने गर्न सकिन्छ।
ठकुरी नेपाली कांग्रेसको युवा राजनीति र विविध गतिविधिमा सक्रिय रहेका छन्। ठकुरीले प्रारम्भिक चुनावी सम्बोधनमा आफ्ना बाबुले सुरु गरेका कामहरुलाई पूर्ण बनाउने र उनैको कल्पना र सपना अनुसारको क्षेत्र बनाउने बताएका छन्।
‘म बुबाको बाटो समात्दै विकासको नयाँ अध्याय सुरु गर्ने प्रयासमा छु’, ठकुरीले भने, ‘युवाहरुलाई विकास र आर्थिक गतिविधिमा सक्रिय बनाउने मेरो योजना हुन्छ।’
फुयाँलले आफूले सुरु गरेका काम पूरा गर्ने र क्षेत्रको विकासमा ध्यान दिने बताए। ‘यसअघि सांसद हुदाँ यस क्षेत्रमा मैले धेरै विकासका कार्य थालनी गरेको छु’, फुयाँलले भने, ‘त्यसलाई पूरा गर्न केन्द्रबाट प्रदेशमा उम्मेदवार भएको हुँ।’
गोकर्णेश्वर र मनोहरा नगरपालिका केही वडा मिलेर बनेको यो निर्वाचन क्षेत्रमा कुल ३५ हजार मतदाता छन् । जोरपाटी, माकलबारी, बेसीगाउँ, सुन्दरी जल, बालुवालगायत क्षेत्रमा निर्णायक मत भएकाले उक्त क्षेत्रका एजेण्डालाई आधार मानेर दुवै पार्टीका नेताहरुले चुनावी प्रचार अभियान तिब्र बनाएका छन्।
सहकारी मन्त्री विरुद्ध जिल्ला अध्यक्ष राई
क्षेत्र नम्बर ३ मा चुनावी प्रतिस्पर्धा निकै रोचक देखिएको छ। ०७० सालमा एमालले जितेको क्षेत्र भएकाले एमाले जिल्ला अध्यक्ष कृष्ण राई त्यसलाई कायम राख्ने पक्षमा छन्। अघिल्लो पटक समानुपातिक सांसद हुँदै गरिबी निवारण तथा शहरी विकास मन्त्री भएकी अम्बिका बस्नेत त्यसलाई उल्टाउने सोचका साथ चुनावी मैदानमा उत्रेकी छन्।
कोइराला परिवारसँगको लामो सम्बन्धका कारण बस्नेत पनि प्रभावशाली उम्मेदवारको रुपमा यस क्षेत्रमा देखिएकी छन् भने राई पनि कम छैनन्। राई जोरपाटीका स्थानीयबासी भएका र स्थानीयस्तरमा लामो समयदेखि राजनीति गर्दै आएकाले उनको प्रभाव राम्रै मानिन्छ। यसकारण पनि मन्त्री बस्नेतमाथि चुनौती कडा छ।
अघिल्लो संविधानसभामा एमालेले नै जितेको र संगठित कार्यकर्ता पंक्ति भएकाले निर्वाचन जित्नेमा राई ढुक्क देखिन्छन्। बस्नेतलाई पनि स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिका आफ्नो पार्टीले जितेका कारण परिणाम आफ्नो पक्षमा पर्ने विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।