काठमाडौं– प्रमुख दलका चर्चित नेताहरुलाई नै टाउको दुखाइको विषय बनेको वागी उम्मेदवारहरुले आज १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन समय पाउने छन् ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार १६ गते उम्मेदवारी दर्ता गरेका उनीहरुहरुले आइतबार १० बजेदेखि १ बजेसम्म समय छुट्याइएको छ ।
उक्त समयावधिभित्र फिर्ता नलिएमा उनीहरु प्रतिस्पर्धाको मैदानमा हुने छन् । उनीहरु पनि प्रतिस्पर्धामै उत्रिए भने पार्टीले उठाएको आधिकारिक उम्मेदवारीलाई संकटमा पार्ने निश्चित छ ।
उक्त संकटलाई ख्याल गरेर दलहरुले पार्टीभित्रबाट असन्तुष्ट रहेर उम्मेदवारी दर्ता गरेका व्यक्तिहरुलाई फिर्ता लिन दबाब दिइरहेको छ ।
आफ्नै गठबन्धन र पार्टीका उम्मेदवार विरुद्ध समेत प्रशस्तै वागी उम्मेदवार उठेका छन् । तनहुँमा रामचन्द्र पौडल विरुद्ध वागी उठेका गोविन्दराज जोशी बाहेक अन्यको उम्मेवारी हाल कायमै छ । आज १ बजेसम्म फिर्ता नलिएमा उनीहरुको उम्मेदवारी कायमै हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
आयोगले १६ गते दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा उम्मेदवारी दर्ता गराएको थियो । उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नुअघि उम्मेदवारी फिर्ता लिन चाहनेलाई समय दिइएको हो ।
राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुरदेखि संघीय समाजवादीका नेता उपेन्द्र यादवविरुद्ध समेत आफ्नै कार्यकर्ताले बागी उम्मेदबार दर्ता गराएका छन् ।
महोत्तरी ४ बाट उम्मेदवार भएका महन्थ ठाकुर विरुद्ध उनकै नेता चन्देश्वर झाले उम्मेदवारी दिएका छन् भने उपेन्द्र यादव विरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । राजपा र संघीय समाजवादी गठबन्धन निर्माण गर्दै निर्वाचनको मैदानमा छन् । एमाले प्रवेश गरेकी कलाकार कोमल वलीले एमाले उम्मेदवार विरुद्ध दाङमा वागी दिएकी छन् । एमाले र माओवादीले निर्माण गरेको वाम गठवन्धनका उम्मेदवार विरुद्ध पनि धेरै वागी उठेका छन् ।
पार्टीभन्दा माथी उठेर वाम गठवन्धन निर्माण भएकाले यसको विरोधमा उम्मेदवारी दिनेहरुमाथि कारवाही हुने एमाले अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहोराले बताए । अनुशासन आयोगले निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध ‘वागी’ उम्मेदवार हुने, दिन लगाउने वा सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गर्ने काम नगर्न कार्यकर्तालाई केही दिनअघि निर्देशन गरेको छ ।
‘सबै नेता, कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छौं’, बोहोराले भने, ‘उनीहरुले फिर्ता लिनेमा हामी विश्वस्त छौं, नलिएमा आवश्यक कारबाही हुन्छ।’
राजपाका महासचिव केशव झाले पनि वागी भएका नेताहरुले आफूले टिकट नपाएका कारण घुर्कीमात्र देखाएकाले फिर्ता लिने बताए । पार्टी भित्रबाटै समेत मनाउने कार्य भइरहेकाले वागी उम्मेदवारी फिर्ता हुने झाले बताए । पार्टीको आग्रहलाई अटेर गरे उनीहरुमाथि कारबाही हुने उनले बताए ।
आगामी मंसिर २१ गते १२८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हुने निर्वाचनमा १ हजार ७४२ उम्मेदवारी परेको छ । त्यसमध्ये एक जनाको खारेजी भएको छ । प्रदेशसभा तर्फको २५६ निर्वाचन क्षेत्रका लागि २ हजार ९६६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
अन्तिम नामावली प्रकाशन
दलहरुका उम्मेदवार र वागीहरुले नाम फिर्ता लिने कार्य सम्पन्न भएपछि आजै आयोगले दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित गर्दै छ । निर्वाचनको निर्धारित कार्यतालिका अनुसार आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिह्न पनि वितरण हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।