गोरखा- नयाँ शक्ति नेपाल परित्याग गरी गोरखाका ६० जना युवा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई अस्थिर भएको भन्दै गाउँ, नगर र जिल्लास्तरका युवा कार्यकर्ताले नयाँ शक्ति छाडेको बताएका छन्। उनीहरुलाई माओवादी केन्द्रका नेता एवं गोरखा-२ मा भट्टराईसँग चुनावी प्रतिस्पर्धामा रहेका नारायणकाजी श्रेष्ठले अवीर र माला लगाई पार्टीमा प्रवेश गराएका हुन्।
'हामी वामपन्थी हौं र सधैं वामपन्थी हुन चाहन्छौं। तर, भट्टराईले कम्युनिष्ट सिद्धान्त मात्र छाड्नु भएन, कांग्रेससँग आत्मसमर्पण गर्नुभयो। त्यसैले नयाँ शक्ति छाडेका हौं.' माओवादी केन्द्र प्रवेश गरेका प्रवीण थापाले भने।
गोरखा क्षेत्र नम्बर-२ को गोरखा नगरपालिका वडा नम्बर-१३ देउराली दराइगाउँमा शनिबार साँझ आयोजित चुनावीसभामा नयाँ शक्तिका स्थानीय नेता थापाको नेतृत्वमा ६० जना युवा माओवादी केन्द्र प्रवेश गरेका हुन्।
चुनावीसभालाई सम्बोधन गर्दै श्रेष्ठले मंसिर १० को निर्वाचन ऐतिहासिक भएको बताउँदै सही निर्णय लिएर मतदान गर्न अनुरोध गरे।
वाम गठबन्धनका उम्मेदवार श्रेष्ठले कम्युनिस्टले जिते मात्र देशले निकास पाउने दाबी गरेका थिए। पिछडिएका जनताको उत्थान र सामाजिक आर्थिक विकासका निम्ति माओवादीलाई जिताउन अपिल गर्दै श्रेष्ठले सहिदका सपना पूरा गर्न र गोरखाको इतिहास कायम राख्न वामपन्थीले जित्नुको विकल्प नरहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।