काठमाडौं– मधेश केन्द्रित राजनीति गर्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ जनै नेताहरु चुनावी मैदानमा उत्रिएका छन्। मधेशको अधिकार र युवालाई समेट्ने नाराका साथ विभिन्न पार्टीमा सहभागी भएका उनीहरु केही समयअघि मात्र नयाँ पार्टी राजपा गठन गरी एकीकृत भएका हुन्। अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरदेखि पहिलो संविधानसभाबाट मधेशको राजनीतिमा देखिएका राजकिशोर यादवसम्म प्रतिस्पर्धामा उत्रेका छन्।
अध्यक्ष मण्डलका सदस्यहरु संसदीय चुनावमा तेस्रो पटकदेखि छैटौं पटकसम्म मैदानमा उत्रिएका छन्। अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरसहित ३ नेता छैटौं पटक प्रत्यक्षतर्फ प्रतिस्पर्धामा होमिँदैछन्। अन्य ३ सदस्य तेस्रो पटक चुनावी मैदानमा उत्रिँदैछन्।
महन्त ठाकुर
नेपाली कांग्रेसको लामो राजनीतिबाट अलग्गिएर तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरी मधेस केन्द्रित राजनीतिमा होमिएका ठाकुर छैटौं पटक निर्वाचनको मैदानमा छन्। यसअघि ३ पटक विजयी भएका उनी २ पटक पराजित भएका थिए। तमलोपा गठन गरेपछि दुवै चुनावमा सर्लाही–६ बाट पराजित भएका ठाकुर यसपटक महोत्तरी–३ बाट प्रतिस्पर्धा गर्दैछन्।
शरदसिंह भण्डारी
राजपा अध्यक्ष मण्डलका अर्का नेता शरदसिंह भण्डारीको बहुदलीय व्यवस्थामा यो छैटौं चुनावी प्रतिस्पर्धा हो। उनी पञ्चायत कालमा पनि चुनाव जितेका नेता हुन्। ०४८ मा राप्रपाबाट महोत्तरी–३ बाट उठेका भण्डारी कांग्रेसका बसन्त गुरुङसँग पराजित भएका थिए। ०५१ मा स्वतन्त्र उम्मेदवार बनेर उनले गुरुङलाई पराजित गरे। ०५६ मा कांग्रेस उम्मेदवार बनेर विजयी भएका भण्डारी ०६४ मा भएको संविधानसभाको पहिलो चुनावमा मधेसी जनअधिकार फोरमबाट निर्वाचित भए। ०७० मा मधेस समाजवादी पार्टीका तर्फबाट उनी पराजित भए । यसपटक उनी महोत्तरी–२ बाट प्रतिस्पर्धा गर्दैछन्।
राजेन्द्र महतो
राजपा अध्यक्ष मण्डलका अर्का नेता राजेन्द्र महतोको पनि यो छैठौं चुनावी प्रतिस्पर्धा हो। ०४८ र ०५१ मा सर्लाही–२ बाट नेपाल सद्भावना पार्टीका तर्फबाट पराजित भएका महतो ०५६ मा सोही क्षेत्रबाट विजयी भएका थिए। ०६४ को संविधानसभा चुनावमा विजयी भएका उनी ०७० को दोस्रो संविधानसभा चुनावमा भने पराजित भए। अहिले उनी धनुषा–३ बाट चुनाव लड्दैछन्। उनको कांग्रेस नेता विमलेन्द्र निधिसँग प्रतिस्पर्धा हुँदैछ।
महेन्द्रराय यादव
एमालेबाट राजनीति सुरु गरेका यादव पहिलो संविधानसभा निर्वाचनपछि तराई मधेश लोकतान्त्रिक पार्टीमा सामेल भए। उनी एमालेबाट ०५१ मा सांसद भएका थिए। यादव तमलोपाबाट ०६४ को पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सभासद बनेका थिए। ०७० सालको दोस्रो संविधानसभा चुनावमा भने सर्लाही–४ बाट प्रत्यक्षतर्फ विजयी हुँदै उनी सभासद बने। तमलोपा छोडेर अलग्गै पार्टी निर्माण गरेका उनले ०७० मा राजेन्द्र महतोलाई हराएका थिए। अहिले उनी सर्लाही–२ बाट चुनाव लड्दैछन्। प्रत्यक्षतर्फ उनको यो चौथो निर्वाचन हो।
अनिलकुमार झा
गजेन्द्र नारायाण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीको राजनीतिबाट झा केन्द्रस्तरको नेता बनेका हुन्। झा ०६४ को संविधानसभा निर्वाचनमा रौतहटबाट विजयी भएका थिए। राजपाको अध्यक्ष मण्डलमा आउनुअघि उनी अलग्गै सद्भावना पार्टी निर्माण गरी राजनीतिमा सक्रिय थिए। अहिले झा रौतहट–१ बाट प्रतिस्पर्धा गर्दैछन्।
राजकिशोर यादव
यादव सिरहा–४ बाट प्रतिस्पर्धा गर्दैछन्। ०६४ सालको संविधानसभा चुनावमा प्रत्यक्ष निर्वाचित भएका यादव ०७० को दोस्रो संविधानसभा सिरहा–६ बाट पराजित भएका थिए। यादवको पनि यो तेस्रो चुनाव हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।