गोरखा– नेकपा माओवादी केन्द्रका नेता एवं गोरखा–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठले आफ्ना प्रतिस्पर्धी नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईलाई सिद्धान्तहीन र अवसरवादी भएको आरोप लगाएका छन्।
पालुङटार–४ लुइँटेल बजारमा नेवार गुठी समाज र लुइँटेल बजार महिला समूहले शनिबार आयोजना गरेको चुनावी कार्यक्रममा श्रेष्ठले अधिकांश समय नेता भट्टराईको आलोचनामै खर्च गरे। श्रेष्ठले माओवादी छाडेदेखि नेता भट्टराई पटक–पटक अवसरको खोजीमा भौँतारिएको टिप्पणी गरे।
माओवादीले प्रधानमन्त्री बनाइसकेपछि कम्युनिस्ट सिद्धान्त नै छोडेर हिँडेका भट्टराईलाई संघीय समाजवादी फोरमले समेत नपत्याएको श्रेष्ठले कटाक्ष गरे। उनले भने, ‘उपेन्द्र यादवसँग पार्टी एकताको प्रस्ताव गर्नु भो, त्यो सफल नभएपछि फेरि हामीसँगै वाम एकतामा जान्छु भनेर आउनुभो। कांग्रेसको जरै उखेलियो भनेर भाषण पनि गर्नुभो, त्यसको चार दिनपछि फेरि कांग्रेससँगै मिलेर चुनावमा आउनुभएको छ।’ उनले यस्तो अस्थिर र अवसरवादी चरित्रको नेतालाई जिताएर गोरखाको विकास नहुने दाबी गरे।
भट्टराई विरुद्ध खनिएका श्रेष्ठले भने, ‘हामीले प्रधानमन्त्री बनाइसकेपछि कम्युनिस्ट, मार्क्सवाद केही चाहिँदैन भनेर हिँड्नुभो। उहाँले विकास गर्न सक्नुहुन्न । उहाँले विकास गरेको भए पार्टी छोडेपछि कतिवटा योजना लिएर गोरखा आउनुभो?’
उनले गोरखाको समग्र विकासका लागि आफूलाई विजयी गराउन आग्रह गरे। सामाजिक परिवर्तन र समाज विकासका निम्ति वाम गठबन्धनलाई विजयी गराउन उनले जोड दिएका थिए। श्रेष्ठले अब केन्द्र र प्रदेश सरकार दुवै वाम गठबन्धनको नेतृत्वमा बन्ने दाबी गर्दै विकासका लागि सरकार चाहिने भएकाले आफूलाई मतदान गरी गठबन्धनलाई विजयी गराउन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।