जनकपुरधाम- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिविरुद्ध उम्मेदवारी दिएका राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले निधिकै गाउँबाट चुनावी अभियान थालेका छन्।
धनुषा-३ बाट उम्मेदवारी दिएका महतोले निधिको जन्मथलो नगराइन नगरपालिकाको जटहीबाट आज चुनावी अभियान थालेको घोषणा गरे। मधेस आन्दोलनका प्रथम सहिद दुर्गानन्द झाको सालिकमा माल्यार्पण गर्दै उनले चुनावी अभियानको शंखनाद गरे।
अभियानलाई सम्बोधन गर्दै महतोले यो निर्वाचन मधेस आन्दोलनको एउटा अर्को रुपसमेत रहेको बताए। 'कांग्रेसी सरकारले मधेस आन्दोलनको बेला चलाएको बुलेटको जवाफ यसपालि धनुषाका जनताले ब्यालेटले दिनेछन्,' उनले भने।
निधि गृहमन्त्री भएकै बेला उनकै निर्देशनमा सप्तरीको मलेठमा गोली चलाएर पाँच जनाको हत्या गरेको आरोप लगाउँदै महतोले त्यसको बदला धनुषाका जनताले मतमार्फत लिने जिकिर गरे।
'मधेसविरोधी संविधान बनाउने काम नेपाली कांग्रेसले नै गरेको हो,' महतोले आक्रोशित हुँदै भने, 'मधेसी जनताको माग अनुरुप संविधान संशोधनको प्रस्ताव कांग्रेसकै कारण सफल हुन सकेन।'
मधेसीको आवरणमा रहेका मधेसविरोधी नेतालाई मतदान नगर्न पनि उनले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।