काठमाडौं–अवकाश पाएको नौ महिनापछि नेपाल प्रहरीले निवर्तमान आईजिपी लगायत अधिकारीको सम्मान र बिदाई गरेको छ । शुक्रबार साँझ नेपाल पुलिस क्लब भुकृटीमण्डपमा एक कार्यक्रम आयोजना गरेर पछिल्लो एक वर्षमा अवकाश पाएका सिनियर अधिकृतहरुको बिदाई गरेको हो।
प्रहरी महानिरीक्षक प्रकाश अर्याल तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सीमा अर्यालले पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी नायव महानिरीक्षकहरु, पूर्व प्रहरी वरिष्ठ उपरीक्षकहरु लगायत मायाको चिनो प्रदान गरी विदाई गरेका हुन्।
कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक अर्यालले संगठनभित्र भातृत्वभाव, व्यावसाियक सद्भाव, सुभेच्छा एवम् आन्तरिक क्षमताको बिकास जोड दिएका थिए।
कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले तीन दशक लामो अवधिसम्म अविछिन्न रुपमा संगठनमार्फत नेपाल र नेपाली जनताका हितका खातिर आफ्नो जीवनको उर्वर समय, उर्जा तथा सिर्जनशीलता अर्पण गर्नुभएका अग्रजहरुको सम्मानस्वरुप विदाई गर्न पाउँदा खुशी लागेको बताए।
कार्यक्रममा गत फागुनमा अवकाश पाएका एआईजीहरुमध्ये राजेन्द्रसिंह भण्डारी भने उपस्थित भएनन्।
नौ महिनापछि बिदाई गर्नुको कारणबारे जिज्ञासामा प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपानेले बिदाई कार्यक्रमका लागि अहिले नै अनुकुलता मिलेको बताए।
उपेन्द्रकान्त अर्याल लगायत प्रहरी अधिकारीले गत वर्ष फागुन २ गते अवकाश पाएका थिए । आईजिपी नियुक्तिको विवादमा कसैलाई इन्चार्ज नै नबुझाई उनी बिदा हुुनपरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।