लुम्बिनी- विश्वपर्यटनको केन्द्र लुम्बिनीको विकासका लागि विदेशी लगानी गर्न उत्साहित रहेको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन्।
रुपन्देहीको धकधइमा सोमबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले भने, 'लुम्बिनीको विकासका लागि वैदेशिक लगानीकर्ता लगानी सम्मेलनमा लुम्बिनीमा एकीकृत आयोजना सञ्चालन गर्न २० अर्ब डलर बराबर ल्याएर आउनुभएको थियो । हामीले त्यति त तत्काल नचाहिएला भनेर चार अर्ब डलर बराबरको काम गर्ने सहमति गरेका छौँ।'
लुम्बिनीका लागि अर्बौं विदेशी लगानी गर्न तयार भएको बताएका अर्थमन्त्री खतिवडाले लुम्बिनीमा प्रसूति गृहसहितको आधुनिक अस्पताल, सडक विस्तार जस्ता आयोजना हुने बताए।
आगामी बजेटमा बुद्ध सर्किटको आयोजना प्राथमिकतामा पर्ने बताउँदै सरकारले बेलहिया बुटवल ६ लेन सडकलाई मध्यपहाडी सडकसँग जोड्ने गरी बजेट व्यवस्थापन गर्न लागेको उल्लेख गरे।
बुटवलको सिद्धबाबामा टनेल वा अन्य प्रविधिका लागि स्वीस सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) गरिसकेको बताउँदै उक्त आयोजना निर्माणमा पनि उनीहरुलाई नै अनुरोध गरेको र सकारात्मक भएको बताए।
मन्त्री खतिवडाले स्थानीय सरकारलाई साधनस्रोत सम्पन्न बनाउने गरी सङ्घीय सरकारले बजेट ल्याउन थालेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।