फाइल तस्बिर
निर्मला घिमिरे/काठमाडौं- १० महिनादेखि बन्द भएको मलेसिया रोजगारी आजदेखि आंशिक रुपमा (कलिङ भिसा लागेका श्रमिक मात्र) जान पाउने गरी सुचारु भएको छ।
मलेसिया रोजगारी खुले पनि अन्तिम श्रम स्विकृतिका लागि श्रम कार्यालयमा कुनै पनि श्रमिकको उपस्थिति नभएको ताहाचलस्थित श्रम कार्यालयले जानकारी दिएको छ। 'कलिङ भिसा लागेका श्रमिकहरु कार्यालयमा उपस्थित भएमा बाँकी प्रक्रियाका लागि तयारी पूरा गरेका थियौं,' कार्यालय प्रमुख देवेन्द्र कार्कीले भने, 'तर कोही पनि आउनुभएन।’
वैदेशिक रोजगार विभागले त्यसता श्रमिकलाई अन्तिम श्रम स्विकृतिका लागि सहजीकरण गर्न भन्दै वैदेशिक रोजगार व्यवसायी संघ र श्रम कार्यालय ताहाचललाई आइतबार पत्राचार गरेको थियो।
कलिङ भिसा लागेका श्रमिकहरु उपत्यकाबाहिर रहेकाले पनि पहिलो दिन उपस्थिति हुन नसकेको संघका महासचिव नरेश गेलाल बताउँछन्। ‘उहाँहरु आएपछि हामीले अन्तिम श्रम स्विकृतिका लागि सहजीकरण गर्छौं। अझै १०-१५ दिनजति लाग्छ होला,’ उनले भने।
यसअघि मलेसियाका लागि कलिङ भिसा लागेका कामदार १० हजारभन्दा बढी रहेको बताउँदै आएको वैदेशिक रोजगार व्यवसायी संघले यसबेला भने ७ हजार मात्र भएको बताएको छ।
मलेसिया रोजगारी खुलाउने क्रममा पहिलो चरणमा कलिङ भिसा लागेका श्रमिकहरु पठाउने र बिस्तारै नयाँ भिसा प्रक्रियालाई समेत सुरु गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।
मलेसिया रोजगारीका नाममा विभिन्न कारणबाट श्रमिकहरु ठगिएको भन्दै श्रम मन्त्री गोकर्ण विष्टले मलेसियाको रोजगारी गत जेठ २ गतेदेखि बन्द गराएका थिए।
वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव दीपक ढकालले भने, ‘कतिपयको कलिङ भिसाको म्याद पनि सकिएको छ, तर जेठ २ गतेअघि भिसा लागेका श्रमिकहरुलाई मलेसिया जान समस्या नहुने गरी सरकारले समझदारी गरेको छ।’
व्यवसायीहरुले मलेसियन दूतावाससँग कलिङ भिसा लागेका श्रमिकका हकमा अन्तिम प्रक्रियाका लागि सहजीकरण गर्नुपर्ने भएकाले पनि कलिङ भिसा लागेकाहरुको उपस्थितिमा केही ढिलाइ भएको हुन सक्ने उपसचिव ढकालको भनाइ छ।
‘विभागमार्फत अन्तिम श्रम स्विकृतिको काम त सुरुवात भइसकेको छ,' उनले भने, 'अब उनीहरु भिसा अप्लाई गर्न आउनुपर्यो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।