नेपालगञ्ज- भाषण र बैठकहरुमा बहुजातीय पहिचानको आधारमा संघीयताको मुद्दा उठाउने प्रमुख दलहरुले नै बाँकेमा मुस्लिम समुदायका प्रतिनिधिलाई टिकट दिएनन्।
माओवादी केन्द्र, नेपाली कांग्रेस र एमाले जस्ता प्रमुख पार्टीले नै बाँकेमा मुस्लिम समुदायलाई किनारामा पारे। सो समुदायको कुनै प्रतिनिधिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षमा टिकट पाएनन्।
मुस्लिम समुदायका राजनीतिक चेत भएका र नेतृत्व लिन सक्ने नेता नभएका होइनन् तर प्रमुख दलबाट नै बेवास्ता गरिँदा मुस्लिम नेताहरु निराश देखिएका छन्। बाँकेका ती वटै निर्वाचन क्षेत्रमा मुस्लिम समुदायको बसोबास छ। पछिल्लो जनगणना अनुसार बाँकेमा उनीहरुको संख्या १९ प्रतिशत छ।
टिकटका आकांक्षीहरु लबिङ गर्न राजधानीसम्म पुगेर शीर्ष नेतालाई भेटेर निराश भई फर्किनुपर्यो।
मुस्लिम समुदायका युवा नेता अतहर हुसेन फारुकी माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्। पढेलेखेका र राम्रै प्रभाव जमाएका फारुकी २०६४ को संविधानसभा निर्वाचनदेखि टिकटका आकांक्षी थिए। हरेक निर्वाचनमा टिकटको अन्तिम दौडसम्म पुगे पनि नाम काटिने गरेको उनको गुनासो छ।
एमाले र माओवादी गठबन्धन हुँदा बाँकेको क्षेत्र नं २ बाट प्रतिनिधिसभाको टिकट हृदयेश त्रिपाठी समूहका पशुपति दयाल मिश्राले पाए।
प्रत्यक्षतर्फको प्रतिनिधिसभाको टिकट नपाएपछि प्रदेशको (ख) निर्वाचन क्षेत्रको टिकटका लागि उनले प्रयास गरेका थिए। त्यो सिट पनि एमालेको भागमा परेपछि चुनावी चुनावी मैदानबाट रिङ आउट भएका अतहर यतिबेला तनावमा छन्। उनले असन्तुष्टि जनाउँदै फेसबुकमा 'लाइफमा ठूलो टर्निङ प्वाइन्ट आएको' उल्लेख गरेका छन्। दोस्रो संविधानसभाको चुनावमा पनि प्रत्यक्षतर्फ टिकट नपाएपछि उनलाई समानुपातिकमा सुनिश्चित गराउने आश्वासन दिइयो तर उनले त्यसमा पनि टिकट पाएनन्।
माओवादीले बाँकेबाट प्रदेशमा कलामुन अन्सारीलाई समानुपातिकको सूचीमा राखेको छ। उनी नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयरमा चौथौ भएर पराजित भएकी थिइन्।
'आफ्नो समुदायसँगै निर्वाचन क्षेत्रमा प्रभाव भएका पढेलेखेका कार्यकर्ताभन्दा जनाधार नभएका र नेताको अघिपघि लाग्ने, जी हजुरी गर्नेहरु नेताका रोजाइमा पर्ने गरेका छन्,' फारुकीले भने।
ठूला पार्टीका ठूला नेताले मुस्लिम समुदायलाई जहिल्यै पनि भोटबैंकको रुपमा मात्रै प्रयोग गर्ने गरेको उनको असन्तुष्टि छ। मुस्लिम समुदायबाट राजनीति गर्नेहरुले पनि गम्भीर समीक्षा गरेर आफ्नो क्षमता र प्रभाव बढाउनेतर्फ लाग्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
बाँकेको २ नम्बरबाट नेपाली कांग्रेसका जडिबुटी व्यापारी याकुब अन्सारी पनि प्रतिनिधिसभामा प्रत्यक्षतर्फको टिकटका दाबेदार थिए। तालमेलका कारण राप्रपाका नेता ओमप्रकाश आजादले टिकट पाएपछि अन्सारीलाई प्रदेशसभाको समानुपातिकमा चित्त बुझाउन विवश बनाइयो।
पूर्वसभासद मोहमदी सिद्दिकी र भोला सिद्दिकी पनि यस पटक प्रत्यक्षतर्फको टिकटमा दाबेदार थिए। तर उनीहरु दुवै समानुपातिक सूचीमा पनि अटेनन्। पूर्वसभासद् सर्वतारा खातुनलाई यसपालि पुन: समानुपातिकमै खुम्च्याइयो।
स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिको मेयरमा मुस्लिम नेतालाई टिकट दिएको एमालेले यस पटक बाँकेका कुनै पनि निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ मुस्लिम नेतालाई टिकट दिएन।
एमाले नेता मौलाना जब्बार मन्जरी टिकटका प्रमुख दाबेदार थिए तर उनले टिकट पाएनन्। एमालेले मुस्लिम समुदायबाट प्रतिनिधिसभामा रुबि खान र प्रदेशसभामा तलत प्रबिन खाको नाम समानुपातिकतर्फ राखिएको छ।
ठूला पार्टीमध्ये संघीय समाजवादी फोरमबाट मात्रै मुस्लिम नेता इस्तिहाक राई बाँकेको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।