गोरखा- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोर्खाली जनतालाई भेडाबाख्रा जस्तो नठान्न डा. बाबुराम भट्टराईलाई चेतावनी दिएका छन्।
चुनावी अभियानका क्रममा शुक्रबार गोरखाको पालुङटार नगरपालिका १ को पाउरोटी भण्डारमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्। भट्टराईले पटकपटक गोर्खाली जनतलाई धोका दिएको समेत श्रेष्ठले आरोप लगाए।
देशको विकास र समृद्धिको नेतृत्व वाम गठबन्धनले गरेको भन्दै श्रेष्ठले विकास निर्माण चाहने गोर्खालीले फेरि भट्टराईलाई विश्वास नगर्ने जिकिर गरे। यसअघि बारपाक पुगेर भट्टराईले 'श्रेष्ठ माओवादी नै नभएको' आरोप लगाएका थिए। गोरखाको सुलीकोट गाउँपालिका–१ बारपाकको चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले भनेका थिए, ‘श्रेष्ठ माओवादीमा कहिले आउनुभयो? उहाँ जनयुद्धको प्रक्रियामै हुनुहुन्थेन।'
अहिलेको निर्वाचन सहिदको सपना पूरा गर्न र समुन्नत नेपालको निर्माणका लागि भन्दै श्रेष्ठले माओवादीले बसालेको समावेशी लोकतन्त्रको जगमा नै नेपालका राजनीतिक दलहरु उभिएको बताए। 'देशमा राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तन आवश्यक छ। वामपन्थी गठबन्धनबाट मात्र त्यो सम्भव छ,' उनले दाबी गरे।
कुनै बेलाका सहयात्री श्रेष्ठ र भट्टराई आसन्न प्रतिनिधिसभा चुनावका लागि गोरखा २ बाट उम्मेदवार बनेका छन्। वामपन्थी गठबन्धनबाट श्रेष्ठ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट नयाँ शक्तिका संयोजक भट्टराईबाीच रोचक प्रतिस्पर्धा हुने धेरैले आकलन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।