काठमाडौं– २०४६ सालदेखि मधेसको राजनीतिमा सक्रिय राजेन्द्र महतोले पुरानो निर्वाचन क्षेत्र सर्लाही छोड्दै धनुषा आए लगत्तै ‘विमलेन्द्र निधिलाई रोज्ने कि मधेस’ भन्ने नाराका साथ चुनाव प्रचारमा उत्रिएका छन्।
आफ्नो पुरानो निर्वाचन क्षेत्रमा चुनौती दिन आएका महतोलाई पनि निधिले सोही अनुरुपको नाराले जवाफ दिएका छन्। निधिले ‘चर्का कुरा मात्र गर्नेलाई रोज्ने कि काम गर्नेलाई’ भन्ने नारा अघि सारेका छन्।
दुवै नेताले एकअर्कालाई प्रतिस्पर्धी पाएपछि जनमत आफ्नो पक्षमा पार्न यस्ता नारा तय गरेका हुन्।
आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि उनीहरु शनिबारदेखि औपचारिक रुपमा चुनावी प्रचार अभियानमा निस्कँदै छन्। त्यसका लागि उनीहरुले आफूलाई अब्बल साबित गर्ने प्रचार रणनीति अपनाएका छन्।
यस्तो छ महतोको रणनीति
‘म मधेस आन्दोलनको उद्गमस्थलका जनताको मागका कारण पुरानो क्षेत्र छोडेर धनुषा आएको हुँ,’ महतोले भने, ‘यहाँका जनतालाई मधेसलाई अधिकार सम्पन्न बनाउने कि निधिलाई जिताउने विकल्प दिएको छु।’
‘जनकपुर मधेस आन्दोलनको उद्गम स्थल हो,’ महतोले भने, ‘त्यहाँका जनताले मेरो उम्मेदवारी माग गरेका कारण दिएको हुँ।’ मधेस आन्दोलनको राप र तापसँगै निधि विरोधी मत आफूतिर तान्ने महतोको रणनीति देखिन्छ।
महतोले २०१८ सालमै सहिद भएका दुर्गानन्द झाको गाउँबाट शनिबारदेखि चुनावी अभियान सुरु गर्दै छन्। मधेस आन्दोलन र राजपाको दबाबका कारण ५२ वर्षपछि सहिद घोषणा गरिएका झाको गाउँबाट प्रचारका साथ महतो चुनावी अभियानमा निस्कन लागेका हुन्।
गणतन्त्रका लागि २०१८ माघ ९ गते जनकपुरमा जानकी दर्शन गर्न पुगेका तत्कालीन राजा महेन्द्रमाथि दुर्गानन्द झाको नेतृत्वमा बम प्रहार भएको थियो। २०२० माघ १५ गते राति सुन्धारास्थित केन्द्रीय कारागारमा गोली हानी झाको हत्या गरिएको थियो।
राष्ट्रिय सद्भावना पार्टीबाट लामो समय राजनीति गरेका महतो पटक–पटक मन्त्री भइसकेका छन्। यसअघि उनी सर्लाही–४ र सिरहा–१ बाट उम्मेदवार बन्दै आएका थिए। स्वास्थ्य र आपूर्ति जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालेका महतो दोस्रो संविधानसभा चुनावमा दुवै क्षेत्रबाट पराजित भएका थिए।
गजेन्द्र नारायण सिंहले स्थापना गरेको पार्टी चार टुक्रा हुदाँसम्म मूल पार्टीलाई भने महतोले नेतृत्व गर्दै आएका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनले सर्लाही–४ बाट तराई मधेस लोकतान्त्रिक पार्टीका उम्मेदवार रामचन्द्र राय यादवलाई पराजित गरेका थिए।
कम छैनन् निधि
कांग्रेसका प्रभावशाली नेता निधि धनुषामै बसेर निर्वाचन प्रचारमा जुट्ने तयारीमा छन्। आफ्ना अगुवा कार्यकता र जिल्ला नेतृत्व पंक्तीसँग चुनावी रणनीतिका बारेमा छलफल गरिरहेका छन्। जनकपुर उपमहानगरबाटै निर्वाचन अभियान सुरु गर्ने तयारीमा निधि छन्। निर्वाचनलाई लक्षित गर्दै निधिले सामाजिक सञ्जालमा ‘मिथिलाको राजधानी जनकपुर मेरो घर हो। यहाँ मैले बामे सर्न सिकेँ, पढेँ, हुर्किएँ। मेरो राजनीति धनुषाबाट सुरु भएर राष्ट्रिय भयो,’ भनी लेखेका छन्। उनको यो भनाइले महतो अन्य क्षेत्रबाट आएर निर्वाचन लड्न लागेको र आफू स्थानीय भएको सन्देश दिन खोजेको देखिन्छ।
कांग्रेसका पुराना नेता महेन्द्रनारायाण निधिका छोरा विमलेन्द्र विद्यार्थी राजनीति हुँदै केन्द्रीय राजनीतिमा आएका व्यक्ति हुन्। यसअघि उपप्रधान तथा गृहमन्त्री समेत भइसकेका निधिले विगतमा पनि यही क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएका थिए। उनी दोस्रो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका हुन्। पार्टीको माथिल्लो पदमा पुग्ने सम्भवना बोकेका नेता निधि अघिल्लो जितको साख जोखाउँदै अहिले पनि विजयी हुने दाउमा छन्।
राजपा र नेपाली कांग्रेसले तालमेल गर्न खोज्दा निधिले महतोलाई धनुषा–३ दिन अस्वीकार गरेको चर्चा थियो। अन्ततः महतो उनीसँगै प्रतिस्पर्धा गर्न आइपुगेका छन्।
‘मेरो दुई पुस्ता मधेसको राजनीतिमा भिजेर आएको छ,’ निधिले भनेका छन्, ‘अहिले क्षणिक स्वार्थका लागि कसैले आरोप लगाउँदैमा त्यो निष्ठा समाप्त हुँदैन, यो कुरा धनुषाका जनताले बुझेका छन्।’
‘मधेस कि निधि’ भनी महतोले लगाउने नारालाई उनले सस्तो लोकप्रियता आर्जन गर्न खोज्ने प्रयास भनी टिप्पणी गरे। मधेसमा कसले कसरी विकास र अधिकार दिएको छ जनतालाई कसैले सिकाउनु नपर्ने निधिको तर्क छ। ‘चर्का नारा लगाउनेहरु आफैंभित्र खोक्रो भएर नयाँ क्षेत्रमा निर्वाचन लड्न आएको कुरा यहाँका जनताले बुझ्नेछन्,’ निधिको टिप्पणी छ।
धनुषा-३ मा यस्तो छ आँकडा
धनुषा–३ मा जनकपुर उपमहानगरको १ देखि १६ र २०, २३,२४ र २५ वडा पर्छन्। यस्तै, नगराइन नगरपालिकाका साथै धनौजी र मुखियापट्टी मुसहरमिया गाउँपालिका र विदेह नगरपालिकाको वडा नम्बर ९ यो क्षेत्रमा पर्छ।
स्थानीय चुनावमा नगराइन, धनौजी र मुखियापट्टी कांग्रेसले जितेको थियो भने जनकपुर उपमहानरमा राजपा १० हजार मतान्तरले विजयी भएको थियो। जनकपुरको यही लोकप्रियता कायम गर्दै निर्वाचन आफ्नो पक्षमा पार्न सक्ने आँकलनका साथ महतो सर्लाही छोडेर धनुषा आएको देखिन्छ।
तर, यो क्षेत्रमा पर्ने स्थानीय तहहरुका वडाध्यक्षको मत विश्लेषण गर्दा कांग्रेसको १८ हजार १ सय ३१ र राजपा–फोरम गठबन्धनको १७ हजार २ सय ८० मत छ।
तर, स्थानीय तहको मतका आधारमा निधि वा महतो कसले बाजी मार्ला अनुमान लगाउन सकिन्न।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।