सुर्खेत– मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सुर्खेतमा ६ सिटका लागि ६० जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन्।
प्रतिनिधिसभाका २ सिटका लागि २० जना र प्रदेशसभाका ४ सिटका लागि ४० जनाले उम्मेदवारी दर्ता गराएका छन् । ११ दलले उम्मेदवारी दर्ता गराए पनि मुख्य प्रतिस्पर्धा भने एमाले र माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेसबीच नै हुने देखिन्छ । स्थानीय तहको निर्वाचनको मतलाई आधार मान्दा यहाँका ६ वटै क्षेत्रमा वाम गठबन्धन बलियो अवस्थामा छ।
सुर्खेतबाट 'हेभीवेट' नेताहरु चुनावी मैदानमा उत्रिँदै छन् । पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्का, पूर्वमन्त्री हृदयराम थानी, यामलाल कँडेलसहित बहालवाला सूचना तथा सचार राज्यमन्त्री तप्तबहादुर विष्ट चुनाव लड्दै छन् ।
पूर्णबहादुर खड्कालाई ध्रुव शाहीको चुनौती
०४८ सालको आम निर्वाचनयता कांग्रेस नेता पूर्णबहादुर खड्काले कुनै पनि निर्वाचनमा पराजय बेहोर्नुपरेको छैन । पहिलो पटक ०४८ को आम निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर १ बाट विजयी भएपछि ०५१ को मध्यावधि निर्वाचन, ०५६ को संसदीय निर्वाचन तथा ०७० को संविधानसभा निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । ०६४ सालको संविधानसभामा भने उनी समानुपातिक तर्फबाट सभासद बनेका थिए।
आफ्नो क्षेत्रमा राम्रो पकड बनाएका खड्का मंसिर २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् । तर, यस पटक भने उनलाई विगतमा जस्तो सजिलो हुने छैन । पूर्वी सुर्खेतका पाँच वटा स्थानीय तहसहित वीरेन्द्रनगर नगरपालिकाको दुई वटा वडा मिलेर बनेको सो क्षेत्रमा यस पटक खड्कालाई वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका ध्रुवकुमार शाही चुनौती हुनेछन् । शाही नेकपा एमाले सुर्खेतका अध्यक्ष समेत हुन्।
यी दुवै नेताको छवि स्थानीयस्तरमा राम्रो छ । उनीहरु दुवै विकासप्रेमी नेताका रुपमा परिचित छन् । स्थानीय तहको चुनावमा गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखहरुले पाएको मत अनुसार खड्काभन्दा शाही बलियो अवस्थामा छन् । सो क्षेत्रमा रहेका पाँच वटा स्थानीय तहमध्ये दुई वटामा एमाले र तीन वटामा नेपाली कांग्रेस विजयी भएको छ । यद्यपि शाहीलाई माओवादी केन्द्रको समेत साथ रहेकाले यस पटक पूर्वगृहमन्त्री खड्काका लागि शाहीले टक्कर दिने आकलन गरिएको छ । स्थानीय निर्वाचनको परिणाम अनुसार यो क्षेत्रमा कांग्रेसभन्दा वाम गठबन्धनको मत करिब ८ हजारले बढी छ।
अप्ठेरोमा पूर्वमन्त्री थानी
पूर्वमन्त्री हृदयराम थानीका लागि यो निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सजिलो छैन । प्रतिनिधिसभातर्फ सुर्खेतको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थानीलाई वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले सुर्खेतका पूर्व अध्यक्ष नवराज रावतले चुनौती दिनेछन्।
थानी यसअघि दुई पटक सुर्खेत क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । तर, दुवै पटक एमालेभित्रको समस्याले उनलाई जित्न सहज भएको थियो । ०५६ सालमा थानी विजयी हुँदा एमाले विभाजित अवस्थामा रहेकाले त्यसको फाइदा उनलाई भयो । उनले एमालेका उम्मेदवार शिवप्रसाद उपाध्यायलाई एक हजार ७९ मतान्तरले पराजित गरे । संविधानसभा निर्वाचन ०६४ मा एमालेका उम्मेदवार यामलाल कँडेलसँग पराजित भएका थानीले संविधानसभाको दोस्रो निर्वाचनमा उनै कँडेललाई पराजित गरे । उक्त निर्वाचनमा एमालेका कँडेल विरुद्ध शिवप्रसाद उपाध्याय बागी उम्मेदवार बनेका थिए । जसको फाइदा पुनः थानीले उठाउँदै दोस्रो पटक विजयी भए । त्यति मात्र होइन, सोही निर्वाचनमा विजयी भएपछि उनी सहकारी तथा गरिबी निवारणमन्त्री समेत बने।
तर, यस पटक भने थानीलाई जित हात पार्न निकै गाह्रो मानिएको छ । निर्वाचन क्षेत्र पनि विगतको भन्दा बदलिएको छ । वीरेन्द्रनगर नगरपालिकाको १४ वटा वडा र विगतमा क्षेत्र नम्बर ३ मा रहेका क्षेत्रलाई गाभेर अहिलेको क्षेत्र नम्बर २ बनाइएको छ । स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगरका १४ वडामध्ये ९ वटामा एमालेले जितेको छ । त्यस्तै, सोही क्षेत्रमा पर्ने चौकुने गाउँपालिकामा पनि एमालेले भारी मतअन्तरले विजय हासिल गरेको छ । पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा कांग्रेस विजयी भए पनि मतान्तर भने न्यून थियो । यसले गर्दा समग्रमा एमाले र माओवादीको मत कांग्रेसको भन्दा धेरै छ । स्थानीय तहको मतपरिणाम अनुसार यो क्षेत्रमा कांग्रेसभन्दा वाम गठबन्धन करिब १० हजार मतअन्तरले अगाडि छ।
यसअघि क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्दै आएका नवराज रावत, एमाले बलियो रहेको वीरेन्द्रनगर पनि आफ्नै क्षेत्रमा गाभिएपछि थप बलियो बनेका छन् । जसले गर्दा यसअघि तीन पटक पराजित भएका रावतले यस पटक पूर्वमन्त्री थानी विरुद्ध आफूलाई बलियो रुपमा उभ्याएका छन्।
मुख्यमन्त्रीका दाबेदार कँडेललाई सहज
एमालेका पोलिटब्युरो सदस्य यामलाल कँडेल प्रदेश नम्बर ६ को मूख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । राष्ट्रिय राजनीतिमा स्थापित नेकपा एमालेका पोलिट्ब्युरो सदस्य कँडेल मुख्यमन्त्री बन्ने आकाक्षांसहित यस पटक प्रदेशसभाको उम्मेदवार बनेका हुन्।
०५१ यता उनी लगातार निर्वाचन लड्दै आएका छन् । ०५१ को मध्यावधि निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उनी एमाले विभाजनपछि भने मालेतिर लागे । मालेबाट ०५६ को संसदीय निर्वाचनमा भने उनी सुर्खेत क्षेत्र नम्बर २ बाट पराजित हुन पुगे । त्यसपछि पुन पार्टी एकीकरण भएपछि ०६४ मा भएको संविधानसभा निर्वाचनमा भने सोही क्षेत्रबाट विजयी भएका कँडेल दोस्रो संविधानसभा निर्वाचन ०७० मा पुनः पराजित हुन पुगे । एमालेबाटै बागी उम्मेदवार भएपछि कँडेल पराजित भएका थिए । तर, यस पटक भने अरुलाई भन्दा कँडेललाई सहज छ।
कँडेल क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभामा निर्वाचन लड्दै छन् । जुन क्षेत्र एमालेको बलियो पकड भएको क्षेत्र हो । वीरेन्द्रनगर नगरपालिकाको १४ वटा वडा रहेको यो क्षेत्रमा स्थानीय निर्वाचनमा १४ मध्ये ९ वटा वडा एमालेले जितेको छ । एमालेको पकड क्षेत्र भएकाले कारण पनि कँडेललाई जित्नका लागि सहज हुने आकलन यहाँका सबैको छ।
जिल्ला पार्टी सचिव, केन्द्रीय सदस्य हुँदै पार्टीको पोलिट्ब्युरो सदस्यसम्म पुगेका कँडेल यसअघि पर्यटनमन्त्री समेत भइसकेका छन् । राष्ट्रिय राजनीतिमा समेत स्थापित कँडेलको प्रतिस्पर्धा पहिलो पटक निर्वाचन लड्न लागेका नेपाली कांग्रेस जिल्ला सभापति कमलराज रेग्मीसँग हुँदैछ । रेग्मी दुई पटक नेपाली कांग्रेसको क्षेत्रीय सभापति हुँदै जिल्ला सभापति भएका नेता हुन् । ०४९ मा वीरेन्द्रनगर नगरपालिकाको मेयर हुँदै दुई पटक सोही क्षेत्रबाट सांसद र मन्त्री समेत भइसकेका कंडेलसँग प्रतिस्पर्धा गर्न रेग्मीलाई सजिलो छैन । त्यसमा पनि कँडेललाई माओवादी केन्द्रको साथ छ।
तप्त विष्ट भर्सेज विन्दमान विष्ट
दोस्रो संविधानसभा निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर ३ बाट विजयी भएका कांग्रेसका तप्पबहादुर विष्टसँग पहिलो पटक निर्वाचन लड्न लागेका विन्दमान विष्टले प्रतिस्पर्धा गर्दैछन् । वाम गठबन्धनबाट सुर्खेतको क्षेत्र नम्बर २ को (ख)बाट प्रदेशसभातर्फ उम्मेदवार बनेका विष्ट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन्।
उक्त निर्वाचन क्षेत्रमा दुई वटा गाउँपालिका र एउटा नगरपालिका छन् । जसमध्ये पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ भने चौकुने गाउँपालिकामा एमाले विजयी भएको छ । माओवादीले कुनै स्थानीय तहमा जित हात नपारे पनि एमालेको साथ भएकाले बहालवाला मन्त्री तप्तबहादुर विष्टसँग प्रतिस्पर्धा गर्न विन्दमान विष्टलाई गाह्रो पर्नेछैन । यद्यपि स्थानीय राजनीतिमा विन्दमानभन्दा तप्तको पकड राम्रो भएकाले तीव्र प्रतिस्पर्धा हुनसक्ने आकलन पनि गरिएको छ । तप्तबहादुर विष्ट वर्तमान सरकारका सूचना तथा सञ्चार राज्यमन्त्री हुन् भने विन्दमान विष्ट माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य हुन्।
ठम्मर विष्टसँग टेकबहादुर सिंहको प्रतिस्पर्धा
सुर्खेतको क्षेत्र नम्बर १ को (क) अन्यभन्दा बढी प्रतिस्पर्धा हुनसक्ने क्षेत्रको रुपमा लिइएको छ । जहाँ वाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य ठम्मरबहादुर विष्ट र कांग्रेसका जिल्ला उपसभापति टेकबहादुर सिंह उम्मेदवार बनेका छन्।
प्रदेशसभाको यो निर्वाचन क्षेत्रामा दुई वटा स्थानीय तह छन् । जसमध्ये गुर्भाकोट नगरपालिकामा नेपाली कांग्रेस र सिम्ता गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । स्थानीय तहको मतअनुसार यहाँ वाम गठबन्धन र कांग्रेसबीच जम्मा ९९ मतको अन्तर छ । गठबन्धनसँग १४ हजार ७ सय ७६ मत छ भने कांग्रेससँग १४ हजार ६ सय ७७ मत छ । त्यसकारण पनि यो क्षेत्रमा गठबन्धन र कांग्रेस उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुन सक्ने आकलन गरिएको छ।
पूर्व गाविस अध्यक्ष र पूर्व शिक्षक भिड्दै
निर्वाचन क्षेत्र नम्बर १ को (ख) मा पूर्व गाविस अध्यक्ष र पूर्व शिक्षक चुनावी प्रतिस्पर्धा गर्दैछन् । एमालेले तत्कालीन रामघाट गाविसका दुई पटकका अध्यक्ष खड्गबहादुर खत्रीलाई सो क्षेत्रबाट प्रदेशसभाका लागि उम्मेदवार बनाएको छ भने कांग्रेसले भर्खरै मात्र शिक्षण पेशाबाट अवकाश पाएका झकबहादुर डाँगीलाई उम्मेदवार बनाएको छ।
डाँगी शिक्षण पेशाबाट अवकाश पाएपछि पूर्णकालीन पार्टी राजनीतिमा आएका हुन् । उनीसँग पार्टी राजनीतिको अनुभव त्यति लामो छैन । तर, शिक्षक हुँदा कांग्रेस निकट शिक्षक संघको विभिन्न जिम्मेवारीमा रहेर उनले काम गरिसकेका छन्।
वाम गठबन्धनबाट उम्मेदवार बनेका खत्री मूलतः निर्माण व्यवसायीको रुपमा परिचित छन् । ०३४ सालदेखि राजनीतिक यात्रा थालेका उनी ०४९ र ०५४ सालमा भएका स्थानीय निकायका निर्वाचनमार्फत तत्कालीन रामघाट गाविसका अध्यक्षमा निर्वाचित भए । व्यवसाय सँगसँगै सामाजिक कार्य र राजनीतिमा सक्रिय उनी भलिबल र एथ्लेटिक्सका पूर्व राष्ट्रिय खेलाडी समेत हुन् । नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्य उनी नेकपा एमाले निकट नेपाल उद्योग परिषदको समेत केन्द्रीय सदस्य हुन्।
यो क्षेत्रमा स्थानीय तह निर्वाचनको परिणाम अनुसार वाम गठबन्धन बलियो छ । गठबन्धनसँग १९ हजार ५ सय ३ मत छ भने कांग्रेससँग १३ हजार ७ सय ४८ मत छ । यो हिसाबले कांग्रेसका डाँगीभन्दा वाम गठबन्धनका खत्री बलियो अवस्थामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।