काठमाडौँ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचन सकिएलगत्तै एकता हुने बताएका छन्।
एमाले टोखा – २ र ३ ले आज आयोजना गरेको कार्यकर्ता भेलामा उनले दुई पार्टी एक गर्न नै वाम गठबन्धन गरिएको जानकारी दिए। काठमाडौं क्षेत्र नं ५ बाट एमालेतर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारसमेत रहनुभएका पोखरेलले उम्मेदवारी दर्ताका क्रममा देखिएको उत्साहले वाम गठबन्धनले दुई तिहाइ ल्याउने जिकिरसमेत गरे। “हामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दुई तिहाइ ल्याएर सरकार बनाउँछौँ”, उनले भने, “अनि त्यो स्थिर सरकार भएपछि देशको कायापलट गर्छौं ।” उनले टिकट वितरणमा केही असन्तुष्टि देखिए पनि मिलाएर लैजाने बताए।
“वाम गठबन्धन गर्दा सबैको चित्त बुझाउन सकिएन”,उनले भने, “देश बनाउनका लागि गठबन्धन गरेको हुनाले सानातिना कुरामा चित्त दुखाउनु हुँदैन।” रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।