काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले आफू विरुद्ध उम्मेदवारी दर्ता गराएका नेता गोविन्दराज जोशी अयोग्य भएको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन्।
विशेष अदालतले भ्रष्टाचारी ठहर भएको व्यक्ति निर्वाचनको उम्मेदवार हुन नसक्ने दाबी गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँमा पौडलले शुक्रबार जोशी विरुद्ध उजुरी दर्ता गराएका हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ मा भ्रष्टाचार ठहर भएको व्यक्ति उम्मेदवार हुन नपाउने भनिएको छ। पौडेलको निवेदनमा भ्रष्टाचार पनि नैतिक पतन देखिने फौजदारी कसुरमा परेका कारण उनी अयोग्य भएको दाबी गरिएको छ। पौडेलले विशेष अदालतको फैसला समेत साथै राखी आयोगमा निवेदन दिएका हुन्।
पौडलको निवेदन उपर आयोगले आइतवार निर्णय लिनेछ। २०६९ साउन १० गते विशेष अदालतले जोशीलाई भ्रष्टाचारी ठहर गरेको र उक्त फैसला अन्तिम भई बसेको दाबी पौडलको निवेदनमा गरिएको छ।
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व गृहमन्त्री जोशीले तनहुँ–१ बाट पौडेल विरूद्ध बिहीबार उम्मेदवारी दर्ता गराएका थिए। बिहीबार दमौलीमा कार्यकर्ता सहित निर्वाचन आयोगमा गएर जोशीले उम्मेदवारी दिएका हुन्। जोशीले उम्मेदवारी दर्ता गर्दै आफूले क्षेत्रीय सभापतिहरुको सल्लाह र जिल्लावासीको माग अनुसार उम्मेदवारी दिएको दाबी गरेका थिए।
‘२४ जनाको संसदीय बोर्डको निर्णयभन्दा पनि जिल्लाका जनताको मागले मेरो उम्मेदवारी दर्ता भएको हो,’ जोशीले नेपाल लाइभसँग भने, ‘मैले कांग्रेसलाई बेइमानी गरेको छैन, कार्यकतासहित गएर उम्मेदवारी दिएको हुँ।’
पार्टीको केन्द्रीय बैठकले पौडेललाई तनहुँ–१ का लागि आधिकारिक उम्मेदवारको टिकट दिएर पठाएको थियो। सो क्षेत्रमा पार्टीले आफूलाई टिकट नदिएपछि कांग्रेसको संसदीय बोर्ड नै वैधानिक नरहेको बताउँदै जोशीले उम्मेदवारी दिएका थिए।
कांग्रेसको विधान अनुसार बोर्डमा जम्मा १४ जना हुनुपर्नेमा २४ जनाको जम्बो टोली बनाएर अवैधानिक तरिकाले टिकट वितरण गरिएकाले आफूले कांग्रेसको जनमत अनुसार उम्मेदवारी दिएको जोशीको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।