काठमाडौं– नेपाली सेनाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सुरक्षा व्यवस्था कसरी मिलाउने भनेर बिहीबार रक्षामन्त्री भीमसेनदास प्रधानलाई बोलाएर एकदिने सम्मेलन गर्यो । सम्मेलनमा महोत्तरी घर भएका दुईतारे जर्नेल (उपरथी) ईश्वर हमालले भने, ‘मधेसको मनस्थिति पनि बुझ्नुपर्छ है।’
उपरथी हमाल अहिले सेनाको नयाँ संरचनामा प्रदेश–२ का प्रमुख हुन् । उनले भने, ‘मधेसका जनता सेना देख्यो कि तर्सिन्छन् । यो त्रास घटाउन के गर्न सकिन्छ, गर्नुपर्यो।’
हालैको बाढीपछि सेनाले गरेको उद्धार तथा सडक निर्माणपछि मधेसमा सेनाले केही स्थान बनाए पनि यो राष्ट्रकै सेना हो भन्ने छवि मधेसमा स्थापित गर्न नसकेकोमा उनले गुनासो पनि गरे।
सैनिक अधिकृतहरुको प्रतिवेदन अनुसार सुरक्षा दृष्टिकोणले आसन्न चुनावमा सबैभन्दा बढी संवेदनशील क्षेत्र नै प्रदेश–२ हो । त्यसको कारक तत्व हुन् सिके रावत र सीमापारबाट सञ्चालित सशस्त्र समूह । त्यसपछि क्रमश: प्रदेश–५, प्रदेश–१ र प्रदेश–६ छन्।
प्रदेश–५ दलहरुबीच आपसी भिडन्त हुने सम्भावनाका कारण, अरुण पूर्वको प्रदेश–१ जातीयताका कारण र प्रदेश–६ माओवादीबाट अलग्गिएका विप्लवका कारण संवेदनशील सूचीमा परेका हुन्।
रक्षामन्त्री प्रधान र सेनापति राजेन्द्र क्षेत्रीकै अगाडि केही जर्नेलले आक्रोशित हुँदै भने, ‘काठमाडौंको चश्माले सबै कुरा देख्छ भन्ने भ्रम त्यागौं ।’ त्यसपछि सेनापतिले मातहतकालाई निर्देशन दिए, ‘विस्तृत प्रतिवेदन पठाउनू र आफूले बुझेको वस्तुस्थिति अनुसार परिचालन हुनू।’
रक्षा मामिलाबारे आफूले धेरै बुझ्न नपाएको स्विकार्दै मन्त्री प्रधानले भने, ‘कुराकानी फरक–फरक ढंगले आए । थोरै समय चर्काचर्की भए पनि निर्वाचन सफल पार्ने सन्दर्भमा सबैको एक मत रह्यो । चर्काचर्की गर्ने साथीहरुको पनि प्रमुख सरोकार निर्वाचन सफल पार्नेमै रहेकाले यसलाई अन्यथा बुझ्न मिल्दैन।’

एकदिने निर्वाचन सुरक्षा भेलामा उपरथीहरु प्रदेश–१ का गौरव तन्डुल, प्रदेश–२ का ईश्वर हमाल, प्रदेश–३ का प्रभुराम शर्मा, प्रदेश–४ का देवेन्द्र मेघासी, प्रदेश–५ का राजेन्द्र कार्की, प्रदेश–६ का कर्मेन्द्र लिम्बू, प्रदेश–७ का झंकर कठायत (सहायक रथी, निमित्त प्रमुख) र उपत्यका प्रमुख पूर्ण सिलवाल सहभागी थिए।
त्यसैगरी सेनाको अपरेसन विभाग प्रमुख हेमन्त कुँवर, गुप्तचर निकाय प्रमुख जगदीश पोखरेल, तालिम विभाग प्रमुख देवकुमार सुवेदी, इञ्जिनियरिङ विभाग प्रमुख योगेन्द्रबहादुर खाँण, स्टाफ कलेज प्रमुख प्रह्लाद थापा, राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका सह–संयोजक समीर शाही, कार्यरथी विभाग प्रमुख शेखर बस्नेत, निरीक्षणधिकृत विभागका अनुज बस्नेत, प्रबन्ध विभागका शशीबहादुर सिंह सहभागी थिए । पारिवारिक शोक परेका कारण सम्भार विभागका दीपक भारती भने उपस्थित हुन सकेनन्।
निर्वाचन सुरक्षा बैठकले यस पटकको निर्वाचनमा औंल्याएको सबैभन्दा ठूलो सुरक्षा चुनौती नै दलहरुबीचको सम्भावित भिडन्त हो । त्यसै कारण सेनाले पहिलो चरणको ३२ जिल्लाको चुनावमा समेत ६४ हजार फौज परिचालन गर्ने भएको छ । दोस्रो चरणमा पनि यति नै सैनिक परिचालन हुनेछन् । कुल ९७ हजार ६ सय ७३ दरबन्दी रहेको सेनामा यतिखेर ९० हजारको हाराहारीमा जनशक्ति छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।