काठमाडौं– अतहर कमाल मुसलमानलाई गत संविधानसभा निर्वाचनमा पनि कांग्रेसले ‘अन्याय’ गर्यो । तर, उनी बागी बने । निर्वाचनमा उनी कपिलवस्तु–२ बाट कांग्रेसका आधिकारिक उम्मेदवार राजेश आचार्यलाई करिब एक हजार मतले पछि पार्दै विजयी बने।
संविधानसभा र रुपान्तरित संसदको करिब ४ वर्षे कार्यकालमा उनले कांग्रेसले जे निर्णय गर्यो, त्यसैलाई पालना गरे । कांग्रेस पार्टी सभापति निर्वाचित भएपछि हालका प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई बोलाएर भने, ‘विगतमा टिकट वितरणमा गल्ती भयो । अब त्यस्तो गल्ती दोहोरिँदैन । तपाईं कांग्रेस नै हो है।’
यही वचनका कारण आफूलाई चित्त नबुझेका कतिपय कांग्रेसी निर्णयमा उनले सघाए । निर्वाचन क्षेत्र घटेपछि अहिले कपिलवस्तु–२ एकमै गाभिएको छ । उनी त्यहाँबाट कांग्रेसको प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवार बन्न चाहन्थे।
चाहना नहोस् पनि किन, केहीअघि फेरि पुरानै घर कांग्रेस फर्कँदा देउवाले उनलाई आश्वासन दिएका थिए, ‘यस पटक तपाईंलाई हामी आधिकारिक उम्मेदवार बनाउँछौं । केन्द्रीय सदस्य पनि बनाउँछु ।’ तर, दुवै आश्वासनमै सीमित रहे।
यतिखेर भारतका लागि नेपालका पूर्व राजदूत दीपकुमार उपाध्याय अतहरले चाहेको स्थान कपिलवस्तु–१ (जसमा हाल साबिकको २ नम्बर क्षेत्र पनि जोडिएको छ) बाट कांग्रेस उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्दै छन् । दीपकुमारले चुनाव लड्नकै लागि हालै राजदूत पद त्यागेका हुन्।
अघिल्लो पटक संविधानसभामा प्रतिस्पर्धा गर्दा दीपकुमार कपिलवस्तु–१ मा ३५ सयभन्दा बढी मतले पराजित भएका थिए । जबकि, पार्टीले टिकट नदिएपछि बागी उठेका अतहरले कपिलवस्तु–२ (जुन अहिले क्षेत्र १ मा जोडिएको छ) बाट कांग्रेस उम्मेदवारलाई नै हराएका थिए।
‘म कांग्रेसको आधिकारिक उम्मेदवार बनेको भए यसपटक कम्तीमा पनि १० हजार मतान्तरले जित्थेँ’, अतहर भन्छन्।
हुन त कांग्रेसले उनलाई प्रतिनिधिसभाको समानुपातिकको मुस्लिम कोटामा १ नम्बरमा राखेको छ । तर पनि उनी सन्तुष्ट छैनन्।
‘म जनतामा भिजेको मान्छे । हिजो कांग्रेसले टिकट नदिँदा पनि स्वतन्त्र उठेर जितेको हुँ । म फेरि मेरो ४ वर्षे कार्यकालको मूल्यांकन जनतामार्फत गर्न चाहन्थेँ । त्यो अवसरबाट मलाई वञ्चित गरियो’, उनले भने।
पार्टीको बागी बन्दै एक्लै लडेर संसद् पुगेको अनुभूति समानुपातिक सूचीमार्फत जाँदा नहुने उनको बुझाइ छ।
‘म फेरि पनि स्वतन्त्र रुपमै लडूँ कि भन्ने मनस्थितिमा थिएँ । तर, पार्टीमा फर्किसकेकाले पार्टीको माया लाग्यो । तर, म समानुपातिकमा छानिए पनि विगतमा संसदमा रहँदा हुने गर्वको अनुभूति अब हुनेछैन’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।