काठमाडौं– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव राजनीतिका चतुर खेलाडी मानिन्छन् । उनले प्रतिस्पर्धा गर्न लागेको प्रतिनिधिसभातर्फको सप्तरी–२ मा फोरमले तालमेल गरेको दल राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री जयप्रकाश ठाकुर बागी बनेका छन्।
तर उनी भन्छन्, ‘सबै बागी साथीहरुले उम्मेदवारी फिर्ता लिनुहुन्छ । अरु कसैको इशारामा बागी बनेकाहरुलाई जनताले चिनिहाल्छन्।’
स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश–२ को दोस्रो शक्ति बनेदेखि नै यादवमा आत्मविश्वास बढेको छ।
कांग्रेसको लोकतान्त्रिक गठबन्धनमा किन जानुभएन ? यो प्रश्नको उत्तरमा यादवले भने, ‘गठबन्धन निर्माणमा कांग्रेसले इमान्दार प्रयास नै गरेन । र हामी यस पटक याचना गर्ने अवस्थामा छैनौं । राजपा र हामी मिलेर उल्लेख्य स्थान हासिल गर्छौं।’
यादवसँग जब राजपा नेतृत्वले तालमेलको प्रस्ताव राख्यो, त्यसबेलै उनले स्पष्ट भनिदिए, ‘भोलि कांग्रेस वा एमाले गठबन्धनमा एक्लै लत्रिएर जाने हो भने तालमेल नगरौं ।’ कांग्रेस गठबन्धनमा जान तयार राजपा पंक्तिलाई रोक्न यादवको यही एउटा भनाइ पर्याप्त थियो।
यादव चाहन्छन्, कम्तीमा आफ्नो (राजपासहित) पकड क्षेत्रबाट एक सिट पनि नगुमोस् । तर, उनीमात्र होइन, राजपाका सर्वमान्य नेता महन्थ ठाकुर विरुद्ध नै महोत्तरी ३ मा राजपाकै चन्द्रेश्वर झा बागी उठेका छन्।
भारत परस्त भनिएका ठाकुर र भारतीय बाह्य गुप्तचर संस्था रिसर्च एन्ड एनालिसिस विङ ‘र’ का निकट कांग्रेसका अमरेशकुमार सिंह गत संविधानसभामा सर्लाही–६ बाट भिडेका थिए, जसमा सिंह विजयी भए । सिंहले यस संवाददातासँग त्यसबेला भनेका थिए, ‘म भारतीय संस्थापन पक्षको मान्छे हो (त्यसबेला भारतमा कंग्रेस आईको सरकार थियो) । ‘र’ ले उठाएको हो ठाकुरलाई ।’ जबकि, तथ्य बिल्कुल उल्टो थियो।
सर्लाही ६ क्षेत्रबाट ४ मा खुम्चिएको छ । ४ बाट फेरि अमरेश उठ्दै छन्, त्यसैले ठाकुरले महोत्तरी ३ रोजेका थिए । तर, त्यहाँ पनि उनी बागीको फेला परे । राजपा अध्यक्ष मण्डलकै एक नेता अनिल झा विरुद्ध बबन सिंह बागी उम्मेदवार बनेका छन्।
के यो तपाईंको पार्टी र राजपाबीचको तालमेल तोडिने संकेत हो ? भन्ने प्रश्नमा यादवले भने, ‘यो तालमेल टुट्दैन । उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदासम्म धेरै बागी साथी फिर्ता भइसक्नुहुन्छ । बाह्य इशारामा यो गठबन्धन तोड्न लाग्नेमाथि हामी चुनावपछि आवश्यक निर्णय गर्छौं।’
मधेस केन्द्रित दल कांग्रेस नेतृत्वको गठबन्धनमा जाने विषय समाचार बनिरहँदा नै यादवले भनेका थिए, ‘मेरो दल चाहिँ कुनै गठबन्धनमा जाँदैन । यदि राजपाले हामीसँग तालमेल गर्ने हो भने उसले हाम्रो सर्त मान्नुपर्छ।’
किन त ? भन्ने प्रश्नमा उनको उत्तर थियो, ‘कांग्रेस र हाम्रा मतदाता एकै हुन् । उनीहरुलाई विभाजित गर्न मिल्दैन । राजमार्गका ५/७ सिटमा तालमेल गर्नुको के अर्थ?’
समाजवादी फोरम र राजपाको आकलन छ, यो गठबन्धनले कम्तीमा पनि प्रतिनिधिसभातर्फ ३२ देखि ३५ र प्रदेशसभातर्फ ८० देखि ९० सिट जित्छ । र प्रदेश २ को मुख्यमन्त्री त निश्चित छ।
‘यो अवस्थामा हामीले किन विगतमा हामीमाथि हालीमुहाली गर्ने दलसँग तालमेल गर्ने ?’ यादवको प्रश्न छ । एमालेका पूर्वउपाध्यक्ष अशोक राई पनि आफ्नै पार्टीमा रहेकाले पूर्वी पहाडको मत आफ्नो पोल्टामा पर्ने र समानुपातिकसहित आफ्नो दल भावी प्रतिनिधिसभा र प्रदेशसभामा पनि सम्मानजनक अवस्थामा रहने यादवको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।