काठमाडौं- नेपाली कांग्रेसको वेबसाइटमा वरीयताअनुसार केन्द्रीय सदस्यको सूची राखिएको हो भने २४ केन्द्रीय सदस्यभन्दा अगाडि छन् बद्रीप्रसाद पाण्डे।
बाजुराबाट पछिल्लो संविधानसभामा प्रतिनिधित्व गर्ने निवर्तमान सांसद पनि हुन् उनी। तर गुण्डा गणेश लामालाई टिकट दिने कांग्रेसले यसपटक पाण्डेलाई प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवै सूचीमा राखेन।
किन होला?
पाण्डे भन्छन्, ‘पार्टीभित्र पद्धति होइन, पात्र हाबी भए। हामीले पद्धति बसाल्नै सकेनौं।’
चुनावको मुखमा आफूलाई गलहत्याउन खोज्ने कसैको नाम लिन चाहन्नन् उनी। तर भन्छन्, ‘हामी पनि कहीँ न कहीँ चुक्यौं। गुटगत राजनीतिलाई चिर्न सकेनौं।’
पार्टी निर्णय स्वीकार गरेर पार्टीले तय गरेका उम्मेदवारलाई जिताउने अभियानमा छन्, ४५ वर्षे पाण्डे। ‘मैले मेरा असन्तुष्टि व्यक्त गर्दा पार्टीलाई घाटा हुन्छ। र मैले यही पार्टीमा रहेर राष्ट्रलाई योगदान पुर्याउनुछ। चुनावी परिणामपछि सही र गलतको हिसाब–किताब हुने नै छ,’ उनले भने।
पार्टीमा पात्र होइन पद्धतिको विकास गर्न जरुरी रहेको ठान्छन् उनी। भन्छन्, ‘चुनावलगत्तै म यस काममा सक्रिय हुनेछु। अब पार्टीमा पात्र होइन, पद्धतिका आधारमा चलाउनुपर्छ। पार्टीमा को लोकप्रिय छ, पात्रले होइन, कार्यकर्ता पंक्तिको मतले निर्धारण गर्ने पद्धतिको विकास गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।