काठमाडौं- रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षाका लागि झन्डै ९२ हजार आवेदन परेको छ। सोमबार साँझ ७ बजेसम्ममा ९१ हजार ७ सय ५१ जनाले दिएका छन्।
विगत वर्षमा भन्दा यो वर्ष भाषा परीक्षाका लागि बढी आवेदन परेको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले जनाएको छ।
शाखाका सूचना अधिकारी शोभाकर भण्डारीका अनुसार ६३ हजार ८२ जनाले उत्पादनशील कामका लागि आवेदन दिएका छन् भने २८ हजार ६ सय ६९ जनाले कृषि कामका लागि आवेदन दिएका छन्।
भण्डारीले भने, ‘युवाहरु उत्पादनशील कामका लागि कोरिया जान आर्कषित देखिएका छन्।’
कृषि काममा भन्दा उत्पादनशील काममा जाँदा ओभरटाइम, तलबलगायतका सेवासुविधा बढी हुने उत्पादन क्षेत्रमा आकर्षण हुने गरेको भण्डारीको भनाइ छ।
भाषा परीक्षाका लागि गत बिहीबारदेखि आवेदन खुला गरिएको थियो। आतबार राति १२ बजेसम्म आवेदन दिन सकिने शाखाले जनाएको छ।
राति १२ बजेसम्ममा ९३ हजारभन्दा बढी युवाहरुले भाषा परीक्षाका लागि आवेदन दिने शाखाले जनाएको छ।
कोरियन भाषा परीक्षा भने आगामी जेठ २५ र २६ गते हुने शाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।