सुर्खेत- दैलेखमा नेपाली कांग्रेसबाट तीन जनाले बागी उम्मेदवारी दर्ता गराएका छन्।
प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा कांग्रेस नेता तथा पूर्व स्थानीय विकास राज्यमन्त्री गणेशबहादुर खड्काले बिहीबार बागी उम्मेदवारी दर्ता गराएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको चुनावी तालमेल अनुसार पछि उक्त क्षेत्र कांग्रेसले राप्रपालाई छोडेको थियो। तर कांग्रेस नेता खड्काले राप्रपाका उम्मेदवार दीपककुमार शाहीविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै प्रदेशसभाका दुई वटा क्षेत्रमा पनि कांग्रेसबाट बागी उम्मेदवारी परेको छ। प्रतिनिधिसभाको क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभाको (क) मा कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता भएको हो।
आफूले टिकट नपाएपछि कांग्रेसका नेता नरसिंह मल्लले बागी उम्मेदवारी दर्ता गराएका हुन्। उनले पार्टीका जिल्ला सभापतिसमेत रहेका आधिकारिक उम्मेदवार कृष्णबहादुर विसीविरुद्ध बागी उम्मेदवार दिएका छन्। मल्लले यसअघि २०७० मा सम्पन्न संविधानसभाको निर्वाचनमा पनि बागी उम्मेदवारी दर्ता गरेर पराजित भएका थिए।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत नै प्रदेशसभाको (ख) मा पनि कांग्रेसबाट बागी उम्मेदवारी परेको छ। कांग्रेसका महाधिवेशन प्रतिनिधि लक्ष्मण गुरुङले आधिकारीक उम्मेदवार जगतजंग थापाविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।