राजधानीमा गुन्डागर्दीको सुरुवात दरबारनिकट व्यक्तिहरुबाट भएको हो। पञ्चायतकालमा जगत गौचन, भीमप्रसाद गौचन लगायत व्यक्ति तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको आडमा गुन्डागर्दी गर्थे।
०४६ सालपछि ती व्यक्तिहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरे । अहिलेका ठूला गुन्डा नाइके दीपक मनाङे र गणेश लामा पनि राप्रपामै आबद्ध थिए । तर, राजनीतिको कसीमा राप्रपाबाट दह्रो संरक्षण पाउन नसक्ने भएपछि उनीहरु ठूला पार्टीमा प्रवेश गरेका हुन्।
आफ्नो आपराधिक क्रियाकलापबाट जोगिन कुनै बेला ठूला पार्टीको छाहारीमा पुगेका यिनै गुन्डाहरुले दुर्भाग्यवश यतिबेला प्रतिनिधिसभाको निर्वाचनमा टिकट पाउने हैसियत बनाइसकेका छन्।
यसले नेपाली राजनीतिलाई धमिलो मात्र होइन, थप लज्जित पनि बनाएको छ । ठूला पार्टीमा लागेपछि उनीहरुको अपराधमा प्रहरीले समेत आँखा चिम्लिन थालेको छ।
गत बैशाखमा राजधानीमा प्रायः सबै डनहरु पक्राउ परे । तर, गणेश लामालाई राजनीतिक दबाबकै कारण प्रहरीले पक्राउ गर्न सकेन । त्यतिबेला मनाङे केही समय पक्राउ परेका थिए । यसपछि उनी आफूलाई राप्रपाले संरक्षण गर्न नसक्ने ठहरसहित एमाले प्रवेश गरेका थिए।
लामा विरुद्ध २ वर्षअघि ललितपुरमा अपहरण मुद्दा दायर भएको थियो । उनी त्यति बेला फरार भएकै अवस्थामा पीडितलाई धम्काएर बयान बदल्न सफल भए । ०७० सालको निर्वाचनमा फोरमबाट लडेका लामाले करिब ६ हजार मत प्राप्त गरेका थिए।
दुबैको आधार ठमेल
पैसा कमाउने उद्देश्यले काठमाडौंमा २०५०/५१ सालबाट समूह बनाएर गुन्डागर्दी गर्ने चलन चलेको हो । राजधानीमा सबैभन्दा चर्चामा आएका पुराना डन मध्येमा दीपक मनाङे (राजिव गुरुङ र चक्रे मिलन (मिलन चक्रे) नै हुन् । हाल डनगिरी गर्नेमध्ये धेरै उनीहरुकै समूहबाट छुट्टिएर गएका हुन्।
मनाङेले आफ्नो एरिया बनाएर डनगिरी गर्ने ठाउँ हो, ठमेल एरिया। जहाँ उनी डान्स बार र रेष्टुरेन्ट सञ्चालनदेखि हप्ता असुलीसम्मको धन्दा गर्थे । उनलाई पैसा नबुझाई कसैले त्यहाँ होटल/रेष्टुरेन्ट व्यवसाय गर्न नसक्ने अवस्था थियो।
उनको सेटिङ नेतादेखि प्रहरीसम्म थियो । त्यसैले उनले ठमेल-दरबारमार्ग एरियामा राज गरे । तर, आफ्ना प्रतिद्वन्दी चक्रेको समूहले दुःख दिन थालेपछि मनाङेले गणेश लामालाई हात लिएका थिए।
लामा त्यस बेला सोल्टी क्यासिनोमा बाउन्सरका रुपमा कार्यरत थिए । मनाङेले आफ्नो क्लब ९९ डान्सबारमा २० प्रतिशत शेयर दिएर लामालाई ‘हेड बाउन्सर’ बनाएका थिए । यहाँ काभ्रेका धेरै युवक बाउन्सरका रुपमा काम गर्थे । जसको नेतृत्व लामाले गरेका थिए।
लामाको आगमनपछि मनाङेले ठमेल, दरबारमार्ग, बानेश्वर, मैतीदेवीलगायतका क्षेत्रमा गुन्डागर्दीको साम्राज्य नै स्थापित गरेका थिए । पहिले चक्रेभन्दा मनाङे निकै ‘पावरफुल’ मानिन्थे । प्रायः सबै केटाहरु उनको पछाडि थिए।
तर, २०६० सालमा ठमेलस्थित ‘ठमेल किचेन’ नामक डान्सबारका मालिक काजी शेर्पासँग दीपक मनाङेको झगडा चुलिएपछि परिस्थिति अर्कै बन्न पुग्यो। मनाङेलाई शंका थियो, शेर्पाले आफ्नो समूहको जानकारी चक्रेलाई दिँदै आइरहेका छन् । सोही रिसमा मनाङेले शेर्पाको डान्सबार तोडफोड गरे।
यस घटनामा गणेश लामा पहिलो पल्ट पेस्तोलसहित पक्राउ परेका थिए। त्यति बेला काठमाडौं प्रहरी प्रमुखमा ढकबहादुर कार्कीको निगाहले उनी तीन हप्तामै जेलबाट छुट्न सफल भए।
शेर्पाको पनि प्रहरीमा राम्रै सेटिङ थियो । त्यसैले उनले मनाङेलाई पक्राउ गराउन सफल भए । प्रहरीले मनाङेमाथि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलायो।
अचम्मको कुरा, त्यति बेला सिडिओ कार्यालयले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो । सोही मुद्दामा मनाङे करिब एक वर्ष जेल बसे । पछि आफू दीपक मनाङे नभई राजीव गुरुङ भएको तर्क गर्दै छुटे।
मनाङे जेल पर्नुको फाइदा चक्रे र काजीको समूहभन्दा मनाङेकै विश्वासपात्र गणेश लामालाई भयो।
मनाङे जेल परेपछि सबै कारोबार उनकै हातमा गयो। उनले विस्तारै मनाङेले भनेको टेर्न छोडे। जेलबाट छुटेपछि उनीहरुबीच पैसाको बाँडफाँट तथा एरियालाई लिएर झगडा सुरु भयो।
त्यस बेलासम्म ठमेलमा गणेश लामाले सयौं केटाहरुलाई आफ्नो पक्षमा बनाइसकेका थिए । मनाङे उनीमाथि ‘एक्सन’ लिन सक्ने अवस्थामा थिएनन् । उनीहरुबीच एउटा सम्झौता भयो, दुवैले छुट्टिएर धन्दा गर्ने, एकअर्काको एरियामा हस्तक्षेप नगर्ने।
लामाको समूहले दरबारमार्ग र बानेश्वरलाई आफ्नो एरिया बनायो । काभ्रेली समूहमा दावा लामा, विष्णु लामा, रमेश सनुवार, अजय श्रेष्ठलगायत आवद्ध भए।
लामाको पहिलेको कमाइ डान्सबार र हप्ता असुली मात्र थियो । तर, ०६२/६३ पछि उनी रक्तचन्दनको तस्करीमा लागे । जुन धन्दाबाट उनी रातारात करोडपति बने।
सुरुमा रक्तचन्दन बोेकेका गाडीलाई रोेकर पैसा असुल्ने उनको समूहले पछि आफै रक्तचन्दनको तस्करी सुरु गर्यो । यसपछि लामा मात्र होइन, उनका सहयोगी पनि यो व्यवसायमा जमे। यसबीच उनले ठेक्कापट्टालगायत अन्य काम पनि सुरु गरे । लामा छोटो समयमै ‘क’ वर्गको ठेकेदार बने।
प्रहरी आक्रामक बन्न थालेपछि केही समय दुबईमा रेष्टुरेन्ट चलाएर बसेका लामा नेपाल फर्किएपछि राजनीतिक संरक्षणका लागि विजयकुमार गच्छदारले स्थापना गरेको नेपाल लोकतान्त्रिक फोरममा आवद्ध भए । पैसाकै आडमा उनी पार्टीको केन्द्रीय सदस्य समेत बने । त्यसयता उनी गच्छदारको प्रिय पात्र रहँदै आएका छन् । गच्छदारको नेपाली कांग्रेसमा विलयसँगै लामाले अहिले काभ्रेबाट प्रदेशसभा सदस्यको टिकट पाएका छन्।
कुनै समय प्रहरीबाट जोगिन विदेश भागेका लामा गच्छदार गृहमन्त्री हुँदा प्रहरीको सरुवा बढुवाको सेटिङ मिलाउँदै हिँड्थे । दरबारमार्गमा बसेर उनी प्रहरीका हाकिमसँग मिटिङ गर्थे । उनी विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानको मुद्दा अदालतमा विचाराधीन छ । मनाङेले भने सम्पत्ति शुद्धिकरण मुद्दामा सफाइ पाइसकेका छन्।
मनाङे पनि सुरुमा ठूला पार्टीले नपात्याउँदा लक्ष्मण चौधरीको संघीय समाजवादी पार्टीमा प्रवेश गरेका थिए । यो पार्टीको उनी उपाध्यक्ष थिए । बैठकमा चौधरीलाई नै मुक्का हानेपछि उनलाई ६ वर्षअघि पक्राउ गरिएको थियो।
यसपछि राप्रपामा गएका मनाङे गत महिना एमाले प्रवेश गरेका हुन् । सांसद बन्ने महत्वाकांक्षाले नै उनी एमाले प्रवेश गरेका थिए । तर, पार्टीले टिकट नदिएपछि मनाङमा स्वतन्त्र उम्मेदवारी दिएका मनाङेलाई अहिले एमालेले नै कुनै उम्मेदवारी नदिएर सघाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।