काठमाडौं- झन्डै १० महिनादेखि बन्द भएको मलेसियाको रोजगारी भोलि सोमबारदेखि आंशिक रुपमा खुल्ने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाका लागि कलिङ भिसा लागेका नेपाली कामदार १० महिनापछि मलेसिया जान पाउने गरी अन्तिम श्रम स्वीकृति दिने तयारी गरेको छ।
मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी संघको मातहतमा रहने गरी जेठ २ गते अगाडि नै कलिङ भिसा आएका कामदारलाई अन्तिम श्रम स्वीकृत दिने लागको हो।
व्यवसायी संघका अध्यक्ष रोहन गुरुङका अनुसार पहिले नै प्रक्रिया पूरा गरी कलिङ भिसा पाएपनि मलेसिया जान नपाएका कामदारले मात्रै अन्तिम श्रम स्वीकृति पाउनेछन्।
कलिङ भिसा लागेका श्रमिकको संख्या यकिन गरी विवरण पठाउन यसअघि नै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी संघलाई पत्राचार गरेको थियो।
संघले कलिङ भिसा आएर पनि मलेसिया जान नपाएका कामदारको विवरण मन्त्रालयमा बुझाएको थियो। सोही विवरणको आधारमा मन्त्रालयले कलिङ भिसा आएर पनि १० महिनादेखि मलेसिया जान नपाएका कामदारका लागि अन्तिम श्रम स्वीकृति दिने निर्णय गरको हो।
गत जेठ २ गतेदेखि मलेसिया रोजगारी बन्द भएपछि अहिलेसम्म खुल्न सकेको छैन।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङले कलिङ भिसा लागेका ७ हजार ३ सयभन्दा बढी श्रमिक १० महिनादेखि मलेसिया जान नपाएको बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।