चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक तरिकाबाट समाजवादको निर्माण गर्ने महाअभियानको मोडमा आफूहरु रहेको बताएका छन्।
वाम गठबन्धनका तर्फबाट बिहिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट एकता गर्दै समाजवाद निर्माणबाट मुलुकलाई आर्थिक विकासको ढाँचातिर लैजानका लागि चितवनवासीको सहारा लिनुपरेको बताए।
देशलाई दलाल र ठेकेदारको जिम्मा दिन नसकिने भन्दै उहाँले विचार, आदर्श र मूल्यद्वारा देशको नेतृत्व चयन हुनुपर्ने बताए।
चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएका पूर्वप्रधानमन्त्री दाहालले भने, “चितवनका सचेत जनताले यो ‘मिसन’लाई राम्रोसँग आत्मसात् गर्दै प्रतिक्रियावादी र ठेक्काबाट देश चलाउन खोज्नेहरुलाई जवाफ दिनुपर्छ।”
उनले अब देश समृद्धितर्फ उन्मुख गराउन नयाँ आर्थिक योजनाको खाका वाम गठबन्धनले मात्रै तय गर्न सक्ने बताउँदै विगतमा पाँच वर्षसम्म कुनै सरकार नचलेको परिवेशमा बनेको वाम गठबन्धनको दिगो सरकारमार्फत देश र जनताको आर्थिक समृद्धि हुने विश्वास व्यक्त गरे। नेता दाहालले भने, “आर्थिक विकासले गति लिन्छ र नेपाली जनताका अहिलेका समस्याको समाधान वाम गठबन्धनको सरकारले गर्छ।” आउँदो एक दशकभित्र देश संसारकै तीव्र गतिको विकास भएका देशका दाँजोमा पुग्ने पनि उनले दाबी गरे।
सोही कार्यक्रममा एमाले नेता एवं वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि चितवन क्षेत्र नं १ का उम्मेदवार सुरेन्द्रप्रसाद पाण्डेले निर्वाचनपछि वाम गठबन्धनको सरकार बन्ने जिकिर गर्दै त्यसले देशलाई समृद्धितर्फ लैजाने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।