काठमाडौं– दोस्रो चरणमा ४५ जिल्लाका १ सय २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २ सय ५६ प्रदेशसभा क्षेत्रमा निर्वाचन हुँदैछ। निर्वाचनमा केही शीर्ष नेता एकआपसमा प्रतिस्पर्धामा उत्रेका छन् भने केहीलाई आफ्नै नेता कार्यकर्ताले चुनौती दिँदै बागी उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुर र उपेन्द्र यादवसम्मलाई आफ्नै कार्यकर्ताले बागी उम्मेदवारी दर्ता गराउँदै चुनौती दिएका छन्।
रामचन्द्र पौडेललाई जोशीको चुनौति
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध कांग्रेस नेता गोविन्दराज जोशीले बागी उम्मेदवारी दर्ता गराएका छन्। तनहुँ–१ बाट उम्मेदवार सिफारिसमा परेका वरिष्ठ नेता पौडेल विरुद्ध जोशीले उम्मेदवारी दर्ता गराएसँगै तनहुँमा कांग्रेसभित्र संकट देखा परेको छ। कार्यकर्ताको सर्मथनमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको दाबी जोशीले गरेका छन् भने पौडललाई संसदीय बोर्डले उम्मेदवार बनाउने निर्णय गरेको हो।
भ्रष्टाचारका आरोपी जोशीलाई पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका हुन्। दुई दिनमा उम्मेदवारी फिर्ता नलिए निर्वाचन आयोगले जोशीलाई स्वतन्त्रको निर्वाचन चिह्न दिनेछ।
उपेन्द्र यादवविरुद्ध बागी उम्मेदवारी
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवारी दिएका छन्। राजपा र फोरमबीच सप्तरी क्षेत्र नम्बर २ यादवले लिने सहमति भएको थियो । तर, सहमहामन्त्री ठाकुरले आफ्नो बहुमत रहेको क्षेत्रमा यादवलाई उठाएको भन्दै पार्टी निर्णयलाई अटेर गर्दै उम्मेदवारी दर्ता गराएका हुन्।
महन्त ठाकुर विरुद्ध चन्देश्वर झा
दोस्रो संविधानसभाको चुनावमा महोत्तरी क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट सभासद् बनेका चन्देश्वर झाले आगामी मंसिर २१ मा हुने दोस्रो चरणको प्रतिनिधिसभाको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले राजपा अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुर विरुद्ध उम्मेदवारी दर्ता गराएका हुन्। दोस्रो संविधानसभामा पराजित भएका ठाकुरलाई जिताउन यस पटक महोत्तरीमा ल्याइएको हो। क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा उठेका ठाकुरविरुद्ध झाले स्वतन्त्र उम्मदवारी दिएका हुन्।
स्वतन्त्र सांसदबाट राजपा प्रवेश गरेका झालाई दलले प्रतिनिधिसभाका लागि टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
एमाले उम्मेदवार केसीविरुद्ध कोमल वली
राप्रपा छोडेर एमाले प्रवेश गरेकी कोमल वली अन्तिम समयमा टिकट नपाएपछि बागी उठेकी छन्। दाङमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बनाउने शर्तमा एमाले आएकी वली अन्तिम समयमा जिल्लिएपछि स्वतन्त्र उठेकी हुन्।
प्रतिनिधिसभा वा प्रदेशसभामध्ये एकमा आफूलाई उम्मेदवार बनाउने आश्वासन एमाले अध्यक्ष केपी शर्मा ओली र नेता शंकर पोखरेलले दिएको वलीले बताएकी थिइन्। वलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। उक्त क्षेत्रमा वाम गठवन्धनकातर्फबाट एमालेका हिराचन्द्र केसी उम्मेदवार बनेका छन्।
माओवादीका शाह विरुद्ध एमालेका खड्का
बारा क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा वाम गठबन्धनविरुद्ध नेकपा एमालेका भरतबहादुर खड्काले मनोनयन दर्ता गराएका छन्। बारा क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा वाम गठबन्धनबाट पूर्व राज्यमन्त्रीसमेत रहेकी माओवादी केन्द्रकी ज्वाला शाह उम्मेदवार छिन्। कार्यकर्ताले माओवादीलाई मत नहाल्ने भएकाले उठ्न दबाब दिएपछि आफूले उम्मेदवारी दर्ता गराएको खड्काले बताएका छन्।
हरिबोल गजुरेल विरुद्ध पौडेलको बागी उम्मेदवारी
सिन्धुली क्षेत्र नम्बर–२ को प्रतिनिधिसभा चुनावमा वाम गठबन्धन विरुद्ध माओवादी नेताले बागी उम्मेदवारी दिएका छन्। गठबन्धनबाट माओवादी केन्द्रका नेता हरिबोल गजुरेल उम्मेदवार बनेपछि उनी विरुद्ध माओवादीकै रामकुमार पौडेलले बागी उम्मेदवारी दिएका हुन्। यस्तै क्षेत्र १ को प्रदेशसभा (क) मा माओवादीका दिलबहादुर विकले बागी उम्मेदवारी दिएका छन्। त्यहाँ गठबन्धनबाट माओवादी जिल्ला अध्यक्ष लेखनाथ दाहाल (राजन) उम्मेदवार छन्।
प्रेस चौतारीका जिल्ला अध्यक्षको बागी उम्मेदवारी
नेकपा एमाले निकट प्रेस चौतारीका जिल्ला अध्यक्षले वाम गठवन्धनका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन्। कञ्चनपुरका कर्णबहादुर चन्दले प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। नेकपा एमाले कञ्चनपुरका जिल्ला कमिटी सदस्य तथा प्रेस चौतारीका जिल्ला अध्यक्षसमेत रहेका चन्दले निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) बाट उम्मेदवारी दर्ता गराएका हुन्। गठबन्धनबाट क्षेत्र ३ को प्रदेशसभा (क) मा एमालेकै प्रकाश रावलले उम्मेदवारी दर्ता गराएका छन्।
अनिल झा विरुद्ध बबन सिंह
पहिलो संविधानसभा निर्वाचनमा विजयी भएका बबन सिंहले यस पटक पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । संघीय समाजवादी फोरममा प्रवेश गरेका सिंह टिकट नपाएपछि आफ्नै पार्टीको गठबन्धन विरुद्ध बागी उठेका हुन्।
सिंहले रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन्। उक्त क्षेत्रमा राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले उम्मेदवारी दिएका छन्। सिंहले उक्त क्षेत्रबाट संविधानसभा पहिलो निर्वाचनमा जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।