काठमाडौँ– नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण चरणका रुपमा मानिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा देशभरि नै उल्लासमय वातावरणमा मनोनयन दर्ता भएको छ।
प्रमुख राजनीतिक दलदेखि साना राजनीतिक दलका नेताले आआफ्नो क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन्। आगामी मंसिर १० र २१ गते हुन लागेको निर्वाचनमा आफूहरु प्रतिस्पर्धामा होमिएको उनीहरुको टिप्पणी छ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वारेसनामा गणेश पन्तमार्फत डडेल्धुरामा आफ्नो मनोनयन दर्ता गराएका छन्। उनको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनका तर्फबाट खगराज भट्टले उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन्। टिकट वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेसकै अर्का नेता गोविन्दराज जोशीले समेत सोही क्षेत्रबाट उम्मेदवारी दिएका छन्। त्यहाँ वाम गठबन्धनका तर्फबाट किसान श्रेष्ठ उम्मेदवार छन्।
कांग्रेसका महामन्त्री शशांक कोइरालाले नवलपरासी–१ बाट उम्मेदवारी दिएका छन्।
कांग्रेसका अर्का नेता विमलेन्द्र निधिले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन्। उनको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनले रामसिंह यादवलाई प्रतिस्पर्धामा उतारेको छ भने राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसमेत सोही क्षेत्रबाट उम्मेदवार छन्।
यसैगरी, कांग्रेस नेता कृष्ण सिटौला झापा–३, विजयकुमार गच्छदार सुनसरी–३, मिनेन्द्र रिजाल मोरङ–२ बाट चुनावी प्रतिस्पर्धामा छन्।
त्यस्तै, कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काठमाडौँ– १ बाट उम्मेदवारी दिएका छन्। उनको प्रतिस्पर्धीमा वाम गठबन्धनबाट विद्यार्थी नेता अनिल शर्मा र विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र चुनावी मैदानमा छन्। काठमाडौँ क्षेत्र नम्बर ४ मा कांग्रेसका युवा नेता गगन थापा र वाम गठबन्धनका तर्फबाट राजन भट्टराई प्रतिस्पर्धी छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रतिस्पर्धीका रुपमा कांग्रेसले खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ अधिकारी त्रिचन्द्र क्याम्पसको प्राध्यापकबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन्।
यस्तै, इलाम क्षेत्र नम्बर १ बाट एमालेका वरिष्ठ नेता झलनाथ खनाल र सोही जिल्लाको क्षेत्र नम्बर २ बाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्। नेता खनालको प्रतिस्पर्धीका रुपमा कांग्रेसले भूपेन्द्र कट्टेललाई उम्मेदवार बनाएको छ भने पूर्वसभामुख समेत रहेका नेम्वाङको प्रतिस्पर्धीका रुपमा कांग्रेसले केशव थापालाई उम्मेदवार बनाएको छ।
यस्तै, काठमाडौँ क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री माधकुमार नेपालले उम्मेदवारी दिएका छन्। उनको प्रतिस्पर्धीका रुपमा कांग्रेसले दीपक कुइँकेललाई उम्मेदवार बनाएको छ काठमाडौँ क्षेत्र नम्बर ५ बाट वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेसका तर्फबाट डा प्रकाशशरण महत उम्मेदवार छन्।
एमालेका उपाध्यक्ष वामदेव गौतमले बर्दिया-१ बाट उम्मेदवारी दिएका छन्। गौतमको प्रतिस्पर्धीका रुपमा कांग्रेसले सिँचाइ मन्त्रीसमेत रहेका सञ्जय गौतमलाई उम्मेदवार बनाएको छ। वाम गठबन्धनका तर्फबाट एमाले उपाध्यक्ष भीम रावल अछाम-१ बाट उम्मेदवार छन् भने उनको प्रतिस्पर्धीका रुपमा कांग्रेसबाट भरतकुमार स्वाँर चुनावी मैदानमा छन्।
एमालेका उपमहासचिव विष्णु पौडेल रुपन्देही क्षेत्र-३ बाट उम्मेदवार छन् भने उनको प्रतिस्पर्धीका रुपमा युवराज गिरीलाई कांग्रेसले अघि सारेको छ।
यसैगरी, पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रतिस्पर्धीका रुपमा कांग्रेसको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता विक्रम पाण्डेले उम्मेदवारी दिएका छन्।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पहिलो चरणको निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन्। गोरखा-१ मै कांग्रेसको समर्थनमा नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उम्मेदवार बनेका छन्।
माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले दाङ-२ मा उम्मेदवारी दर्ता गरेका छन्। वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा रहेका महराको प्रतिस्पर्धीका रुपमा कांग्रेसले राजु खनाललाई मैदानमा उतारेको छ। यस्तै माओवादी केन्द्रका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अर्घाखाँचीबाट उम्मेदवार छन्। उनका प्रतिस्पर्धीका रुपमा रामबहादुर बिसी छन्।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसाल ललितपुर-३ बाट, सोही पार्टीका नेता गिरिराजमणि पोखरेल महोत्तरी–१ बाट, हितमान शाक्य काठमाडौँ– १० बाट र झक्कु सुवेदी काठमाडौँ– ६ बाट उम्मेदवार छन्।
माओवादी केन्द्रका अर्का नेता मातृकाप्रसाद यादव धनुषा-१ बाट उम्मेदवार छन् भने उनको प्रतिस्पर्धीका रुपमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना छन्। धनुषा–२ बाट वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रामचन्द्र झा उम्मेदवार छन्। उनका प्रतिस्पर्धी कृषि विकासमन्त्रीसमेत रहेका कांग्रेस नेता रामकृष्ण यादव छन्।
पूर्वसूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की झापा-१ बाट उम्मेदवार बनेका छन्। उनका प्रतिस्पर्धीका रुपमा कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा छन्।
माओवादी केन्द्रका नेत्री उर्मीला अर्याल पर्सा–४ बाट र नेता प्रभु साह रौतहट–३ बाट उम्मेदवार बनेका छन्।
यस्तै, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी-२ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनका तर्फबाट उमेशकुमार यादव, कांग्रेसबाट सकलदेव सुतीहार र स्वतन्त्र रुपमा राजपाका तर्फबाट जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन्।
संघीय समाजवादीका अर्का नेता अशोक राई कांग्रेसको समर्थनमा सुनसरी-१ बाट उम्मेदवार बनेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले कांग्रेससहितको समर्थनमा मकवानपुर-१ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनले कृष्णप्रसाद दाहाललाई उम्मेदवार बनाएको छ।
राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर महोत्तरी–३ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार छन्। उनका प्रतिस्पर्धीका रुपमा सोही दलका सांसद चन्देश्वर झाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।