काठमाडौं- गुण्डा नाइके गणेश लामाले नेपाली कांग्रेसका तर्फबाट काभ्रेमा उम्मेदवारी दर्ता गराएका छन्। लामाले काभ्रेबाट प्रदेशशभाका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
काभ्रे क्षेत्र नम्बर-१ (ख) बाट लामाले बिहीबार कांग्रेसका नेताहरुसँगै उम्मेदवारी दर्ता गराए। यसअघि विजयकुमार गच्छदारको नेपाल लोकतान्त्रिक फोरममा रहेका लामा गच्छदार कांग्रेसमा प्रवेश गरेसँगै कांग्रेस भएका हुन्। उनलाई कांग्रेस संसदीय बोर्डको बैठकले काभ्रे-१ (ख) मा टिकट दिएको हो। लामाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ। काभ्रे-१ (ख)मा वाम गठबन्धनका तर्फबाट एमालेका चन्द्र लामाले उम्मेदवारी दिएका छन्।
काभ्रेमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कांग्रेसका तीर्थ लामा र क्षेत्र नम्बर २ मा मधु आचार्यले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, प्रदेशसभामा कांग्रेसका तर्फबाट क्षेत्र १ (क) मा सिबि लामा, प्रदेश २ (क) मा सुन्दरमणि आचार्य र २ (ख) मा कन्चनचन्द्र बादेले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी, वाम गठबन्धनबाट काभ्रेमा प्रतिनिधिसभा क्षेत्र-१ मा बमध्वज लामा (माओवादी) र क्षेत्र २ मा गोकुल बाँस्कोटा (एमाले) ले उम्मेदवारी दर्ता गराएका छन्।
प्रदेशसभामा क्रमशः १ (क)मा रुद्र ढकाल (माओवादी), (ख) मा चन्द्र लामा (एमाले), २ (क) मा लक्ष्मण लम्साल (एमाले) र २ (ख) मा बसुन्धरा हुमागाई (एमाले) को उम्मेदवारी परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।