चितवन – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन र दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन दुवै राजनीतिक स्थिरताका लागि भएको बताएका छन्।
चितवन क्षेत्र नं ३ बाट आज प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग दाहालले आर्थिक विकास र समृद्धिका निम्ति दुवै गठबन्धन ठूलो अवसर भएको बताए।
यो गठबन्धन वाम गठबन्धनबाट मात्रै नभएर दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धनबाट पनि भएकाले देशमा राजनीतिक स्थिरताको वातावरण बन्ने उनले बताउनुभयो । नेपाली जनता, राष्ट्रिय हित र एकताको निम्ति दुवै गठबन्धन हितकर हुने पनि उनको भनाइ थियो ।
देशमा ७० वर्षदेखि राजनीतिक स्थिरता हुन नसकेको भन्दै अध्यक्ष दाहालले भने, “नेपालको इतिहासमा पाँच वर्ष कुनै सरकार टिक्न सकेन, जसले नेपाली जनताको आर्थिक विकास र समृद्धिको चाहना कहिल्यै पूरा हुन सकेन, स्थिर सरकारका लागि पनि गठबन्धन भएको हो।”
यो निर्वाचनमा वामपन्थी एकता कायम गरेर कम्युनिस्ट शक्तिलाई एक ठाउँमा विशेष उद्देश्यका साथ नयाँ तालमेलसहित आफू चितवन आएको भन्दै उनले यो ऐतिहासिक क्षण भएको आफूले महसुस गरेको बताए।
सशस्त्र द्वन्द्वपछि पहिलोपटक रोल्पा र काठमाडौँ र दोस्रोपटक सिरहाबाट निर्वाचित भएर गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बन्नुभएका दाहालले पहिलोपटक गृहजिल्ला चितवनबाट उम्मेदवारी दिए। उनको उम्मेदवारी दर्तामा प्रस्तावक माओवादी नेता अमिक शेरचन र समर्थकमा नेकपा एमालेका क्षेत्र नं ३ का संयोजक रामजीप्रसाद सापकोटा रहेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।