काठमाडौं- तीन महिनाअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीको हातबाट टीका लगाउँदै राप्रपाबाट एमाले भएकी कलाकार कोमल वली अन्ततः एमाले सांसद विरुद्ध बागी उठेकी छन्।
प्रतिनिधिसभाको दाङ क्षेत्र नम्बर-३ मा पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उठेकी हुन् । यसअघि उनलाई उक्त क्षेत्रमा उम्मेदवार बनाउने भनिएको थियो।
‘म तीन महिनादेखि यहाँ निर्वाचनको तयारी गरिरहेकी थिएँ’, वलीले भनिन्, ‘मनोनयन दर्ता गराउने अन्तिम समयमा अर्को व्यक्तिलाई दिएपछि एमाले कार्यकताको दबावमा स्वतन्त्र उम्मेदवारी दिएकी हुँ।'
वाम गठवन्धनले एमालेका हिराचन्द्र केसीलाई दाङ-३ मा प्रतिनिधिसभा उम्मेदवार बनाएको छ । उम्मेदवारी दर्तापछि वलीले उक्त क्षेत्रमा स्वतन्त्रै भए पनि आफ्नो जित निश्चित रहेको दाबी गरिन्।
मंगलबार अन्तिम समयसम्म उनलाई आधिकारिक उम्मेदवार अर्को नभएको भनिएको थियो । तर, मनोनयन दर्ता गर्ने दिन बिहीबार बिहान एमाले नेता शंकर पोखरेलले आफ्नो प्रयास सफल हुन नसकेको जानकारी गराएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।