काठमाडौं– नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट रामचन्द्र पौडेल विरूद्ध उम्मेदवारी दर्ता गराएका छन्।
बिहीबार दमौलीमा शक्ति प्रदर्शनसहित निर्वाचन आयोगमा गएर जोशीले तनहुँ क्षेत्र नम्बर १ का लागि पौडेल विरुद्ध उम्मेदवार दिएका हुन् । जोशीले उम्मेदवारी दर्ता गर्दै आफूले क्षेत्रीय सभापतिहरुको सल्लाह र जिल्लावासीको माग अनुसार उम्मेदवारी दिएको बताए।
‘२४ जनाको संसदीय बोर्डको निर्णयभन्दा पनि जिल्लाका जनताको मागले मेरो उम्मेदवारी दर्ता भएको हो’, जोशीले नेपाल लाइभसँग भने ‘मैले कांग्रेसलाई बेइमानी गरेको छैन, कार्यकतासहित गएर उम्मेदवारी दिएको हुँ।’
पार्टीको केन्द्रीय बैठकले पौडेललाई तनहुँ १ का लागि आधिकारिक उम्मेदवारको टिकट दिएर पठाएको थियो । सो क्षेत्रमा पार्टीले आफूलाई टिकट नदिएपछि कांग्रेसको संसदीय बोर्ड नै वैधानिक नरहेको बताउँदै जोशीले उम्मेदवारी दिएका हुन् ।
कांग्रेसको विधान अनुसार बोर्डमा जम्मा १४ जना हुनुपर्नेमा २४ जनाको जम्बो टोली बनाएर अवैधानिक तरिकाले टिकट वितरण गरिएकाले आफूले कांग्रेसको जनमत अनुसार उम्मेदवारी दिएको जोशीको भनाइ छ । जोशीले यसअघि नै पौडेललाई तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव नलड्न सल्लाह दिएका थिए।
पार्टीले टिकट नदिए पनि जोशीले तनहुँ क्षेत्र नम्बर १ का जनताले आफूलाई टिकट दिइसकेको भन्दै उनीहरुकै बलमा चुनाव जित्ने दाबी गरेका छन् । कांग्रेसले क्षेत्र नम्बर १ मा पौडेल र २ मा केन्द्रीय सदस्य शंकर भण्डारीलाई टिकट दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।