काठमाडौं– नेकपा एमालेका निवर्तमान सांसद रेवतीरमण भण्डारीले एमाले सचिव तथा प्रदेश १ संयोजक भीम आचार्यले आफ्नो राजनीतिक जीवन सिध्याउन खोजेको बताएका छन्।
सुनसरी–२ बाट अघिल्लो संविधानसभामा निर्वाचित भण्डारीलाई एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फ कुनैको पनि उम्मेदवार बनाएको छैन।
‘मेरो राजनीतिक जीवन सिध्याएर सडकमा पुर्याउने प्रदेश संयोजक भीम आचार्यको योजनाअनुरुप मलाई कतै पनि उम्मेदवार बनाइएन । ममाथि ठूलो षड्यन्त्र गरियो’, भण्डारीले भने । वाम गठबन्धनबाट माओवादीका डम्बर सुवेदी सुनसरी–२ बाट उठ्ने भएका छन्।
०६४ सालको संविधानसभा निर्वाचनमा भण्डारीले कांग्रेसका बद्री चौधरीलाई ७ हजार ३१ मतको फराकिलो अन्तरले हराएका थिए । भण्डारीले १८ हजार ४ सय ७४ मत प्राप्त गरेका थिए भने भण्डारीले ११ हजार ४ सय ४३ मत प्राप्त गरेका थिए।
संविधानसभा निर्वाचनमा यो क्षेत्रमा माओवादीले तेस्रो मत पनि पाएको थिएन । फोरम लोकतान्त्रिकका उम्मेदवार नरेन्द्र चौधरी ७ हजार ५ सय ६४ मतसहित तेस्रो भएका थिए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि इटहरी उपमहानगरसहित एमालेले जितेको धेरै क्षेत्र समेटिएको सुनसरी–२ का लोकप्रिय नेता हुन् भण्डारी।
‘मैले आरामदायी बहुमतले चुनाव जित्थेँ । प्रतिनिधिसभा मात्र होइन, प्रदेशसभाको पनि टिकट दिइएन । समानुपातिक सूचीमा पनि नराख्नु भनेको मेरो राजनीतिक जीवन समाप्त पार्ने षड्यन्त्र हो’, उनले भने।
भण्डारीलाई टिकट नदिएपछि त्यस क्षेत्रका कतिपय एमाले नेता तथा कार्यकर्ता आक्रोशित बनेका छन् । उनीहरुले सामूहिक राजीनामा दिने तयारी समेत थालेका छन् । सुनसरी–१ का उम्मेदवार प्रदेश संयोजक आचार्यलाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।