काठमाडौं- पूर्वसभामुख दमननाथ ढुंगानाले राजनीतिमा आफ्नो सक्रियता थप सशक्त हुने बताएका छन्।
२३ वर्षपछि राजनीतिमा फर्किएका ढुंगानाले शान्तिप्रक्रियाको पूर्ण कार्यान्वयन र लोकतान्त्रिक सुदृढीकरणका लागि थप सशक्त भएर लाग्ने बताएका हुन्।
नेपाल लाइभसँग कुरा गर्दै ढुंगानाले भने, 'शान्ति सम्झौताका लागि मैले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको थिएँ। त्यसका कतिपय विषय अझै कार्यान्वयन भएको छैन। त्यसका लागि म सक्रिय हुनेछु।'
नेपाली कांग्रेसले ढुंगानालाई भक्तपुर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ। उनी एमालेको महेश बस्नेतसँग प्रतिस्पर्धा गर्नेछन्।
२०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ बाट ढुंगाना विजयी भएका थिए। उनी प्रतिनिधिसभाको सभामुखमा समेत चयन भएका थिए। २०५१ सालको निर्वाचनमा भने उनी विद्यादेवी भण्डारीसँग पराजित भए। त्यसपछि उनी नागरिक अधिकारकर्मीको भूमिकामा थिए।
पार्टीले आफ्नो योगदानको कदर गर्दै उम्मेदवार बनाएको ढुंगानाले बताएका छन्। 'म नेविसंघको संस्थापक समेत हुँ, कांग्रेसबाटै प्रतिनिधिसभाको सभामुख भएँ। शान्ति सम्झौताका लागि सक्रिय भएँ,' उनले भने,' मेरा योगदानको कदर गरेकोमा म खुसी छु।'
भक्तपुरमा कांग्रेस, एमाले र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय भिडन्त हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।