काठमाडौँ- प्रदेश तथा प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन कार्य भइरहेको छ।
मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ता कार्यक्रम दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाका निर्वाचन क्षेत्रमा भइरहेको छ। ती जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ १५६ क्षेत्र छन्। साँझ ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्न सकिनेछ।
कतिपय उम्मेदवार जुलुससहित उम्मेदवार मनोनयनपत्र दर्ता गराउन गइरहेका छन्।
प्रमुख राजनीतिक दलले उम्मेदवार छनोटमा ढिलाइ गरेका कारण कतिपय स्थानमा उम्मेदवारलाई मनोनयन गर्न आवश्यक कागजात मिलाउन हतारो भएको छ।
महिलालाई धरौटी छुट
उम्मेदवार मनोनयनपत्र पेश गर्दा प्रतिनिधिसभा सदस्यका लागि रु १० हजार र प्रदेशसभा सदस्यका लागि रु पाँच हजार लाग्नेछ। महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ।
धरौटी राख्दा निर्वाचन अधिकृतको कार्यालयमा नगद दाखिला गरी सोको नगदी रसिद वा आयोगले तोकेको धरौटी खातामा रकम जम्मा गरिएको सक्कल बैंक भौचर मनोनयनपत्र साथ पेश गर्नुपर्नेछ।
उम्मेदवारी दर्ताका लागि के चाहिन्छ?
मनोनयनपत्र पेश गर्दा वा गराउँदा एकजनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सही छाप गरेको हुनुपर्नेछ। त्यस्तो प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति हुनुपर्नेछ। निजले आफ्नो नाम मतदाता नामावलीमा समावेश भएको निस्सासमेत मनोनयनपत्र साथ संलग्न गरेको हुनुपर्नेछ।
कुनै व्यक्तिको मनोनयनपत्र पेश गर्दा वा गराउँदा फरकफरक व्यक्ति प्रस्तावक र समर्थक रहेका बढीमा दुई वटा मनोनयनपत्र पेश गर्न वा गराउन सकिनेछ। प्रस्तावित व्यक्तिले मनोनयन पत्रमा आफ्नो मञ्जुरी लेखी सहीछापसमेत गरेको हुनुपर्नेछ।
दलले आफ्नोतर्फबाट उम्मेदवार मनोनयनको औपचारिकपत्र प्रदान गर्न त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहका समितिको पदाधिकारीको हस्ताक्षरसहितको औपचारिक पत्र आवश्यक पर्नेछ। एकल चुनाव चिह्न लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने दलहरुको तर्फबाट औपचारिकपत्रमा दस्तखत गर्न अलगअलग पदाधिकारीको दस्तखत नमुना पेश गर्नुपर्नेछ।
दलका तर्फबाट उम्मेदवार हुने व्यक्तिको हकमा रित नपुर्याई मनोनयनपत्र दाखिला भएमा त्यस्तो उम्मेदवारलाई सो दलको उम्मेदवारको रुपमा मान्यता दिइनेछैन। नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि पनि मनोनयनपत्रका साथ पेश गर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।