काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको बिहीबार मनोनयन हुँदैछ । सात नम्बर प्रदेशको राजनीतिक र आर्थिक राजधानी समेत रहेको कैलाली सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला पनि हो । जहाँका सबै क्षेत्रमा उत्तिकै रोचक भिडन्त हुने देखिएको छ।
यस क्षेत्रमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा पनि उम्मेदवार छिन् । यहाँ कतै महिला विरुद्ध महिला उम्मेदवार त कतै पूर्वमन्त्री विरुद्ध उनकै पिए (स्वकीय सचिव) प्रतिस्पर्धामा छन्।
क्षेत्र नम्बर १
यहाँ वाम गठबन्धनले मदनकुमारी शाह (गरिमा) लाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई उठाएको छ । प्रतिनिधिसभामा दुई महिला एक–अर्काको प्रतिष्पर्धी बनेको देशभरिकै एकमात्र निर्वाचन क्षेत्र कैलाली क्षेत्र नम्बर १ हो । दुवै महिला उम्मेदवार निवर्तमान सांसद हुन् भने राजनीतिमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन्।
क्षेत्र नम्बर २
सबैभन्दा रोचक प्रतिष्पर्धा यही क्षेत्रमा हुने देखिन्छ । किनभने पूर्वमन्त्री र उनकै पिए एकअर्कासँग प्रतिष्पर्धा गर्दै छन् । पूर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठौरसँग उनका तत्कालीन स्वकीय सचिव झपट रावल प्रतिस्पर्धामा उत्रेका छन् । पहिलो संविधानसभा निर्वाचन अगाडि बनेको अन्तरिम सरकारमा राठौर शिक्षा राज्यमन्त्री रहँदा रावल उनका स्वकीय सचिव थिए।
रावल वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार बनेका छन् भने राठौर नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गर्दै छन् । एमालेका पुराना नेता राठौर पार्टीबाट टिकट नपाएपछि केही दिनअघि मात्र कांग्रेसमा गएका थिए।
रावल एमाले उपाध्यक्ष तथा सुदूरपश्चिमका प्रभावशाली नेता भीम रावलका प्रिय पात्र हुन् । उनी मन्त्री हुँदा झपट पटकपटक पिए भएका थिए । झपटलाई सात नम्बर प्रदेशको राजनीतिमा आफ्नो उत्तराधिकारी बनाउने नेता रावलको चाहना छ । झपट युवा संघका उपाध्यक्ष हुँदै एमाले वैकल्पिक केन्द्रीय सदस्य भइसकेका छन्।
उपाध्यक्ष रावलसँगको निकटताका कारण झपटले टिकट पाएपछि राठौर कांग्रेस प्रवेश गरेका हुन् । राठौर कांग्रेस प्रवेश गर्नुमा राजनीतिक दाउपेच मात्रै होइन, यी दुईबीच आपसी विवादले पनि भूमिका खेलेको बताइन्छ । राठौरले आफू शिक्षा राज्यमन्त्री हुँदा पछि आफ्नो नाममा सार्ने गरी पिए झपटको नाममा कैलालीस्थित एक टेक्निकल कलेजको सेयर राखेको र सो सेयर फिर्ता नगरेको आरोप लगाएका छन् । झपट पनि राठौरबाट आफूले किनेको अहिलेसम्म पास नगरिदिएको आरोप लगाउँछन्।
कैलाली क्षेत्र नम्बर २ मा मतका हिसाबले वामपन्थी गठबन्धन अगाडि देखिए पनि लामो समय सोही क्षेत्रमा राजनीति गरेका राठौरको व्यक्तिगत प्रभाव पनि कम आँक्न सकिँदैन । ०७० सालको निर्वाचनमा कैलालीका ६ क्षेत्रमध्ये एमालेबाट जित्ने राठौर एक्ला सांसद हुन्।
क्षेत्र नम्बर ३
यो क्षेत्रमा पनि दुवै गठबन्धनले प्रभावशाली नेतालाई उठाएका छन् । वाम गठबन्धनबाट टिकट पाउने मोआवादी नेता गौरीशंकर थारु पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा कृषिमन्त्री थिए । उनलाई टक्कर दिने लोकतान्त्रिक गठबन्धनका रामजनम चौधरी पूर्वस्वास्थ्य मन्त्री हुन् । स्थानीय तहको निर्वाचनमा पाएको मतका हिसाबले यस क्षेत्रमा वामपन्थी अगाडि भए पनि ०७० को संविधानसभा निर्वाचनमा लोकतान्त्रिक फोरमबाट प्रत्यक्षतर्फ जितेका रामजनमको प्रभाव कमजोर छैन।
क्षेत्र नम्बर ४
माओवादी केन्द्रको प्रदेश ७ का इञ्चार्ज लेखराज भट्ट यही क्षेत्रबाट उठ्दै छन् । पूर्वमन्त्री समेत रहेका उनीसँग कांग्रेसका सुनीलकुमार भण्डारी प्रतिस्पर्धा गर्दै छन् । कांग्रेसले अहिलेको परिस्थितिमा कडा टक्कर दिन सक्ने भण्डारी मात्रै रहेको आकलन गरेर उनलाई पुनः राजनीतिको केन्द्रमा ल्याएको हो । ०४९ सालमै राष्ट्रिय सभाका सांसद भइसकेका भण्डारी कांग्रेसका केन्द्रीय सदस्य पनि भइसकेका छन्।
स्थानीय स्तरमा लोकप्रिय रहेका भण्डारीले क्षेत्रीय मत पनि पाउन सक्ने अनुमान गरिएको छ । डोटीबाट बसाइँ सरेर आउनेहरुको बाहुल्य रहेको यस क्षेत्रमा उनी पनि डोटीबाटै आएकाले उनको पक्षमा मत आउने आकलन गरिएको छ । स्थानीय तहको निर्वाचनमा दलहरुको पाएको मत हेर्दा यस क्षेत्रमा वाम गठबन्धन बलियो देखिन्छ।
क्षेत्र नम्बर ५
यो क्षेत्रमा कांग्रेसले आरजु राणालाई अघि सारेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी राणासँग वाम गठबन्धनबाट नारदमुनि राना चुनाव लड्दै छन् । नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका राना यस क्षेत्रका प्रभावशाली नेता हुन् । राना थारु धेरै भएको यस क्षेत्रमा उनले जातीय मत पनि प्राप्त गर्न सक्ने देखिन्छ । धनगढी नगपालिकाका पूर्वमेयर समेत रहेका उनी सांसद समेत भइसकेका छन्।
यस क्षेत्रमा आफूलाई बलियो बनाउन राणाले पनि कम लगानी गरेकी छैनन् । पछिल्ला केही वर्षदेखि उनले आफ्नो गैरसरकारी संस्थाका विभिन्न परियोजना सोही क्षेत्रमा सञ्चालन गरिरहेकी छिन् । साविक निर्वाचन क्षेत्र नम्बर ६ रहेको यही क्षेत्रबाट यसअघि देउवाले चुनाव जितेकाले पनि यहाँ राणाको पक्षमा नतिजा आउन सक्ने ठाउँ देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।