काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रको तालमेलपछि बनेको वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र पहिलो पटक प्रधान र वर्गशत्रु विभाजन नगरी तयार गरेको छ।
एमाले र माओवादीले हरेक घोषणापत्रमा वर्गशत्रु र त्यसका लागि रणनीतिप्रधान शत्रु तथा ऊसँगको सम्बधका बारे खुलाउने गरेका थिए। तर यस पटक वाम गठबन्धन निर्माण भएपछि जारी भएको घोषणापत्रमा यसका लागि कतै स्थान दिइएको छैन।
ऐसआराम समाप्त हुने भएपछि वाम गठबन्धनको गलत प्रचार
वाम गठबन्धन निर्माण गर्ने कदमसँगै नेपाल र संसारभर तरंग सिर्जना भएको घोषणापत्रमा भनिएको छ।
कम्युनिस्टहरुको बहुमत आए देश साम्यवादमा जाने र जनतालाई दु:ख हुने भनी कांग्रेस लगायत दलले आफ्नो ऐसआराम खोसिने र जनताको समृद्धि हुने देखेपछि गलत प्रचार गरेको भनी घोषणापत्रमा स्पष्टीकरण दिइएको छ। कम्युनिस्टहरुको फुटबाट फाइदा उठाउँदै राष्ट्र र जनतामाथि शासन गर्न पल्केका पुँजीवादीहरुको आफ्नो ऐस र आरामको स्वर्ण युग समाप्त हुने भयले विक्षिप्त भएझैं कम्युनिस्ट अधिनायकवादको हौवा पिटाउन थालेको घोषणापत्रमा उल्लेख छ। पुजीवादीहरुले चलाएको यस्तो भ्रमपूर्ण हल्ला उनीहरूको हतास मनस्थितिको परिचायक हो भन्दा अरु केही नभएको एमाले-माओवादीको ठहर छ।
यो पनि पढ्नुस्: यस्तो छ, वाम गठबन्धनको निर्वाचन घोषणापत्र (पूर्ण पाठसहित)
दुई कम्युनिस्ट पार्टीहरुको एकता नेपालको संविधानको धारा २६९ को उपधारा १ मा उल्लिखित ‘समान राजनीतिक विचाराधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरुले’ राजनीतिक पार्टी निर्माण र सञ्चालन गर्न पाउने संवैधानिक प्रावधान अनुरुप भएको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
संविधान निर्माण गरेको दाबी
वाम गठबन्धनको घोषणपत्रमा नेपालका कम्युनिस्ट पार्टीहरु खासगरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को नेतृत्व नभएको भए संविधानसभाको विषय राष्ट्रिय कार्यसूची नै बन्न नसक्ने दाबी गरिएको छ। कम्युनिस्टहरूको अथक प्रयत्न र पहल नभएको भए नेपालमा आजका यी परिवर्तनहरु सम्भव नहुने घोषणापत्रमा उल्लेख छ।
बहुदलीय प्रतिस्पर्धामा अडिग
नेपालको संविधान कार्यान्वयन गर्दै बहुदलीय प्रतिस्पर्धा सहितको लोकतान्त्रिक प्रणालीको रक्षा र सुदृढीकरण, मानवाधिकारको प्रत्याभूति, सुशासन र पारदर्शितालाई बलियो तुल्याइने घोषाणापत्रमा उल्लेख छ। आवधिक निर्वाचनबाट ताजा जनादेश प्राप्त गर्ने र असहमति एवं प्रतिपक्षको कदर हुने प्रणालीको अनुसरण गरिने पनि उल्लेख गरिएको छ।
असमान सन्धि खारेजी
वाम गठवन्धनले सरकार बहुमत प्राप्त गरेर सरकार निर्माण गरेलगत्तै विदेशसँग गरिएका सबै असमान र अपमानजनक सन्धि सम्झौतालाई राष्ट्रिय हितअनुरुप प्रतिस्थापित गरिने उल्लेख छ। समानता, पारस्परिक लाभ र सम्मान लगायतका पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनका स्थापित मान्यताका आधारमा सबै देशसँग सुमधुर सम्बन्ध कायम गरिने उल्लेख छ।
संक्रमणकालीन न्याय तत्काल
संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका कामहरु यसै अवधिमा सम्पन्न गरी मुलुकमा दिगो शान्ति स्थापना गरिने घोषणापत्रमा उल्लेख छ।
घाइते तथा अपाङ्गता भएका व्यक्तिहरु र सबै विस्थापितलाई स–सम्मान पुनर्स्थापित गरिने घोषणापत्रमा जनाइएको छ।
एमालेले सधै विरोध गर्दै आएको जनयुद्धको विषय पनि यस पटक घोषणापत्रमा समेटिएको छ। एमालेका अध्यक्ष केपी ओलीले चर्को स्वरमा विरोध गर्ने गरिएको जनयुद्धलाई जनताको अधिकार प्राप्तिको ऐतिहासिक उपलब्धिको रुपमा समेट्न घोषणापत्र सफल भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।