न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलाशमा निर्वाचन सम्बन्धी पाँच थान मुद्दाको सुनुवाइ आज हुँदै छ।
सर्वेन्द्रनाथ शुक्ला, सुनिलकुमार पटेल र भरतकुमार मैनालीको एकएक थान र सीताराम अग्रवालका दुई थान रिट सुनुवाइ हुने भएको हो।
सर्वोच्च अदालतमा पछिल्ला दुई सातामा निर्वाचन मिति सार्नेदेखि छपाइ भइसकेको मतपत्र बदर गरी नयाँ छाप्न माग गर्दै हालसम्म सात रिट दायर भएका थिए। प्रतिनिधिसभा र प्रदेशससभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गर्नुपर्ने, क्लस्टर छुट्याएर निर्वाचन गर्नुपर्ने माग गर्दै हालसम्म सात वटा रिट परेको हो।
कात्तिक ८ मा न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले दिएको आदेशपछि निर्वाचन आयोगले दुई वटा मतपत्र छाप्ने निर्णय गरिसकेको थियो। सोही आधारमा सर्वोच्चलाई जवाफ बुझाएकै दिन आइतबार शुक्लाले आफ्ना वारेस मार्फत अवहेलना मुद्दा दर्ता गराएका थिए। यो उनको तेस्रो मुद्दा थियो।
शुक्लाले पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पमकल दाहालले अदालतको आदेशको पत्रकार सम्मेलन गरी आलोचना गरेकाले कारबाही हुनुपर्ने माग गर्दै दुवैलाई विपक्षी बनाई निवेदन दर्ता गराएका थिए।
निर्वाचनमा खटिने कर्मचारीलाई समेत समानुपातिकतर्फ मतदान गर्ने अधिकार दिन माग गर्दै महान्यायाधिवक्ताको कार्यालयका नायव सुब्बा भरतकुमार मैनालीले रिट दर्ता गराएका हुन् । निर्वाचन गराउने कार्यका लागि देशका विभिन्न क्षेत्रमा खटिएका कर्मचारीहरुलाई मतदान गर्न पाउने संवैधानिक हकबाट निर्वाचन आयोगले वञ्चित गराउन नपाउने जिकिर निवेदनमा गरिएको छ।
निर्वाचनमा खटिने ४ लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मीलाई समानुपातिक प्रणालीमा मतदान गर्न दिनुपर्ने माग रिटमा गरिएको छ । पहिलो संविधानसभा चुनावमा कर्मचारीले समानुपातिकतर्फ मतदान गरेका थिए । व्यक्तिलाई मतदान गर्न नपाए पनि पार्टीले दिने मत आयोगले खोस्न नपाउने जिकिर उनीहरुको निवेदनमा गरिएको छ।
मैनालीसँगै समानुपातिकको मतपत्र बदरको माग गरिएको अर्को निवेदन सर्वोच्चमा सोमबारै दर्ता भएको थियो। अधिवक्ता सुनिलकुमार पटेलले सर्वोच्चले दुई निर्वाचनमा लागि फरक–फरक मतपत्र हुनुपर्ने आदेश गरेकाले समानुपातिकतर्फ छापिएको मतपत्र खारेज गरी नयाँ छाप्न अन्तरिम आदेश हुनुपर्ने माग गरेका छन्। प्रत्यक्षतर्फ दुई वटा मतपत्र छाप्नुपर्ने भएकाले समानुपातिकमा समेत अलग–अलग हुनुपर्ने उनको रिटमा जिकिर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।