रसुवा- प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा रसुवामा पार्टी परिवर्तन गर्नेको लहर चलेको छ।
जिल्लामा क्रियाशिल राजनीतिक दलका नेता-कार्यकर्ता धमाधम पार्टी परिवर्तन गर्न थालेका हुन्। लामो समयदेखि पार्टीमा आबद्ध तथा नवप्रवेशीले समेत पार्टी फेर्न थालेका छन्।
बैसाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनमा पराजित भएका नेकपा एमालेका नेता प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। एमाले रसुवाका नेता बिष्णुबहादुर तामाङ स्थानीय तहको निर्वाचनमा कांग्रेस उम्मेदवारबाट पराजित भएका थिए। कालिका गाउँपालिका ४ को वडाध्यक्षमा उम्मेदवारी दिएका उनलाई कांग्रेसका मंगलमान तामाङले पराजित गरेका हुन्।
पछिल्लो समय वाम गठबन्धनप्रति असन्तुष्टि जनाउँदै आएका उनले लोकतान्त्रिक गठबन्धनलाई आफू र आफ्नो समर्थकले विजयी गराउन लागिपर्ने बताएका छन्।
नेपाली कांग्रेस रसुवा-काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष तथा तरुण दल धैबुङ्का पूर्वअध्यक्ष शैलेश पौडेल पनि केही समयअघि नेकपा एमालेमा प्रवेश गरेका छन्।
नयाँ शक्ति पार्टी रसुवाका सदस्य सुनीमाया मोक्तान, जिल्ला सदस्य बालकृष्ण श्रेष्ठ यसै साता वाम गठबन्धनमा प्रवेश गरेका छन्।
यस्तै नौकुण्ड गाउँपालिकाको लामाचेतमा भएको कार्यक्रममा नयाँ शक्ति र कांग्रेस परित्याग गरी पाँच दर्जनभन्दा बढी कार्यकर्ता वामगठबन्धनमा प्रवेश गरेका छन्।
मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा जिल्लामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।
२०५६ को चुनाव जिते पनि अन्तरघातका कारण त्यसपछिका दुई निर्वाचनमा पराजित कांग्रेस यो पटक आफू बलियो भएकोले जित्ने दाबी गर्दै आएको छ। बैसाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा टिकट विवाद चुलिएपछि पार्वतीकुण्ड गाउँपालिकामा लोकतान्त्रिक गठबन्धनमा रहेको नयाँ शक्ति पार्टी विजयी भएको थियो ।
कांग्रेसमा भेगीय हिसाबले मत खस्ने हुँदा यसअघि पराजित हुँदै आएको देखिएको छ। लोकतान्त्रिक गठबन्धनले जिते बलियो संगठन बनाएको वाम गठबन्धन जिल्लाभित्र संकटमा पर्ने देखिएको छ।
प्रदेशसभाको टिकट पाउने निश्चित भइसके पनि गठबन्धनपछि टिकट पाउनबाट वञ्चित एमाले रसुवाका वैकल्पिक केन्द्रीय सदस्य माधव अर्याल चुनावी अभियानमा सामेल भएका छैनन्। उनका पक्षधर आफ्नो संगठनलाई भोट नहाल्ने भन्दै सामाजिक सञ्जालमा ‘असहयोग गर्ने’ घुमाउरो प्रतिक्रिया दिँदै बसेको देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।