काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक खरिद ऐन संशोधन हुने बताएका छन्। ऐनमा व्यवस्था गरिएको कम रकममा ठेक्का हाल्ने (लो-बिडिङ)ले आयोजना पाउने व्यवस्था संशोधन गरिने अर्थमन्त्री खतिवडाको भनाइ छ।
सिंहदरबारमा मंगलबार बसेको संघीय संसदको विकास तथा प्रविधि समिति बैठकमा बोल्दै मन्त्री खतिवडाले सार्वजनिक खरिद ऐन संशोधनका लागि तयारी भइहरेको र त्यसलाई केही समयभित्रै संसदमा पेस गरिने बताए।
हालको व्यवस्थाअनुसार कुनै आयोजनाको ठेक्का प्रक्रियामा सबैभन्दा कम लागत कबुल गर्नेले आयोजना निर्माणको जिम्मा पाउँदै आएको अब सो व्यवस्था हटाउन लागिएको उनको भनाइ छ।
कम लागत कबुल गरेर आयोजना हत्याउने र सोही कारण आयोजनको काममा गुणस्तरीयता नहुने भन्दा सार्वजनीक खरीद ऐनमा भएको व्यवस्थाको आलोचना हुँदै आएको छ।
अर्थमन्त्री खतिवडाले आफू राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा बहुवर्षीय आयोजनासम्बन्धी निर्देशिका बनाएपनि त्यसको कार्यान्वयन नभएका कारण बहुवर्षीय आयोजनामा समस्या आएको उनको भनाइ थियो। उक्त निर्देशिका मन्त्रिपरिषद्मा लगेर पारित गराउन सके अहिले देखिएको समस्या समाधान गर्न सहज हुने उनको भनाइ थियो।
मंगलबार बसेको विकास समितिको बैठकले संघ, प्रदेश र स्थानीय तहले हेर्ने गरी छुट्याईएका बहुवर्षीय आयोजनाका साथै सडक एवं पुलको मापदण्ड तथा ठेक्का लगाइएका र निर्धारित समयमा सम्पन्न हुन नसकेका विभिन्न खण्डमा पर्ने सडक एवं पुलका सम्बन्धमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।