गोरखा - वाम गठबन्धनबाट गोरखा–२ का उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन जितेर वामपन्थीको नेतृत्वमा सरकार बनाउँदै देशलाई समृद्धिको दिशामा लगिने बताएका छन्।
चुनावी घरदैलोका क्रममा आज पालुङटारमा पार्टीको प्रदेशसभा कार्यालय उद्घाटन गर्दै नेता श्रेष्ठले बाह्य हस्तक्षेप सदाका लागि अन्त्य गर्न एमाले र माओवादी केन्द्रबीच गठबन्धन गर्दै एउटै कम्युनिष्ट केन्द्र बनाउने दुई पार्टीबीच निर्णय भएको बताए। कम्युनिष्टहरु थप सशक्त हुन आसन्न चुनावले सहयोग पुग्ने श्रेष्ठको भनाइ छ ।
उनले भने, “समाजवादउन्मुख राज्य खडा गर्ने, देशलाई स्वाधीन बनाउँदै समृद्धिको दिशातर्फ अघि बढाउने, जनताको विकासप्रतिको आशा तथा अपेक्षा पूरा गर्ने र विश्वले देख्ने गरी नमूना समाजवादका आधार खडा गर्न यो चुनाव महत्वपूर्ण हुनेछ।”
नेता श्रेष्ठले भने, “देशमा कम्युनिष्टहरुको मत दुई तिहाइ छ । कम्युनिष्टहरुकै पक्षमा जनताको समर्थन छ तर नेतृत्व र सरकार भने प्रतिक्रियावादीले चलाइरहेका छन् । गरिबी, बेरोजगारी समस्या समाधान गर्न पनि वामपन्थीको सरकार आवश्यक छ।” रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।