काठमाडौं- बैंकिङ कसुरको अभियोगमा प्रहरीले काभ्रेको उग्रचण्डी नाला ७ का एक व्यक्तिलाई पक्राउ गरेको छ।
अर्काको नामको जग्गा देखाएर पास गरिदिने वाचासहित रकम लिई मौज्दात नभएको खाताको चेक दिई बैंकिङ कसुर गरी ठगी गरेको अभियोगमा हाल राजधानीको घट्टेकुलो बस्ने ४८ वर्षीय शिवप्रसाद दाहाल पक्राउ परेका हुन्।
दाहाललाई अपराध महाशाखाको प्रहरी टोलीले कीर्तिपुरको चोभारबाट शनिबार पक्राउ गरेको थियो।
सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका–३ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने नरबहादुर नेपाललगायत ३ जना व्यक्तिलाई काठमाडौं मातातीर्थमा रहेको साम्राज्य शम्शेर जबराको नाममा रहेको जग्गा नारायण शमशेर जबरा नामको करार बैना कागज देखाई दाहालले पीडितहरुसँग ४१ लाख ५० हजार रुपैयाँ लिएका थिए । त्यसपश्चात् खातामा पैसा नभएको चेक दिई दाहाल फरार भएका थिए।
पक्राउ परेका दाहाललाई बैंकिङ कसुर तथा सजाय ऐन अनुसार कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।