काठमाडौं- नेपाली कांग्रेसले प्रतिव्यक्ति आय वार्षिक रुपमा डेढ लाख रुपैयाँ पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले अर्थतन्त्रलाई गतिशील बनाउँदै प्रतिव्यक्ति आय वार्षिक डेढ लाख रुपैयाँ पुर्याउने घोषणा गरेको हो । प्रतिव्यक्ति आय बढाउन चुस्त आर्थिक व्यवस्थापन असल शासनको प्रत्याभूति सुनिश्चित गर्ने कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ।
आगामी १० वर्षभित्र नेपाललाई एउटा सम्मानजनक मध्यम आय भएको गतिशील मुलुक बनाउने कांग्रेसको लक्ष्य छ । एक दशकसम्म वार्षिक सातदेखि दस प्रतिशतसम्मको आर्थिक वृद्धि दर निरन्तर हासिल गर्दै हरेक वर्ष तीनदेखि पाँच लाख रोजगारीको अवसर सिर्जना गर्ने कांग्रेसको प्रतिबद्धता छ।
कृषिको आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, उद्योगको पुनर्जागरण, मानव संशाधनको परिचालन, महिला उद्यमीलाई प्रोत्साहन, गैरआवासीय नेपाली र वैदेशिक रोजगारको पुँजी व्यवस्थापन सहकारी क्षेत्र एवं वित्तीय पहुँच बढाउने लगायतका कार्यक्रम समावेश भएका छन्।
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कांग्रेसले आफ्नो सरकार बनेको अवस्थामा नेपाल सरकारका कर्मचारीलाई बिदासहित वार्षिक २५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणापत्रमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।