रसुवा– मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा रसुवामा दुई गठबन्धनका मुख्य उम्मेदवारबीच तीव्र प्रतिष्पर्धा हुने भएको छ।
लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट मोहन आचार्य रहेका छन् भने प्रदेशसभाका लागि प्रदेश १ मा कांग्रेसबाट प्रभात लामा र प्रदेश २ तर्फ नयाँशक्ति पार्टीबाट प्रेम तामाङ छन्।
त्यस्तै, वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि नेकपा एमालेबाट जनार्दन ढकाल रहेका छन् भने प्रदेशसभाका लागि प्रदेश नम्बर १ मा एमालेबाट कर्न्याल तामाङ र प्रदेश नम्बर २ मा माओवादी केन्द्रबाट इन्द्र गौतम चुनावी प्रतिष्पर्धामा छन् । मुख्य प्रतिस्पर्धामा रहेका उनीहरुबीच रोचक भिडन्त हुने देखिएको छ।
रसुवाबाट प्रतिनिधिसभा सदस्यमा एक जना तथा प्रदेशसभा सदस्यमा दुई जना निर्वाचित हुनेछन् । जिल्लाको निर्वाचनको इतिहास हेर्दा हरेक चुनावमा नयाँ अनुहार र नयाँ राजनीतिक दलको पक्षमा मतदान गरेको देखिएको छ।
यहाँ ०५१ सालमा राप्रपा र ०५६ सालमा नेपाली कांग्रेसले जितेको थियो भने ०६४ सालको संविधानसभा चुनावमा नेकपा माओवादी र ०७० सालको दोस्रो संविधानसभामा नेकपा एमालेले जित हासिल गरेको थियो।
प्रतिनिधिसभा सदस्यका लागि दुवै गठबन्धनबाट उम्मेदवार बनेका दुई जना ठूला व्यवसायीका रुपमा चिनिन्छन् । वाम गठबन्धनबाट एमालेका जनार्दन ढकाल र कांग्रेसबाट उम्मेदवार भएका मोहन आचार्य निर्माण व्यवसायी हुन्।
गत बैसाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको चुनावको मत हेर्दा एमालेले ७ हजार १ सय २५, माओवादी केन्द्रले ३ हजार ६ सय ९२, कांग्रेसले ७ हजार १ सय ३७ र नयाँ शक्तिले ४ हजार ८४ मत पाएको थियो । यो हिसाबले कांग्रेस र नयाँ शक्तिको लोकतान्त्रिक गठबन्धनले कुल ११ हजार २ सय २१ मत पाएको देखिन्छ भने एमाले र माओवादीको वाम गठबन्धनले कुल १० हजार ८ सय १७ मत पाएको देखिन्छ । यसरी हेर्दा जिल्लामा लोकतान्त्रिक गठबन्धन केही अगाडि देखिन्छ ।
प्रदेशतर्फ २ निर्वाचन क्षेत्र रहेको रसुवामा प्रदेशसभाका लागि क्षेत्र नम्बर १ मा गोसाइँकुण्ड गाउँपालिका, नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिकाका ४ र ५ नम्बर वडा पर्छन् । यस्तै, क्षेत्र नम्बर २ मा पार्वतीकुण्ड गाउँपालिका, उत्तरगया गाउँपालिका र कालिका गाउँपालिकाका १, २ र ३ नम्बर वडा पर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।