काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको काम बीचमै अलपत्र पारेर भागेको इटालियन ठेकेदार कम्पनी सीएमसीले १८ करोड रुपैयाँभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) नतिरेको खुलासा भएको छ।
सिएमसीले रकम नतिरेको भन्दै रकम असुलीका लागि ठुला करदाता कार्यालयले सार्वजनिक सूचना प्रकाशन गर्न हालै अर्थ मन्त्रालयलाई पत्र लेखेको छ।
'पहिलो चरणमा भ्याट असुलीका लागि कार्यालयले सूचना निकाल्ने प्रक्रिया थालेको हो,' प्रमुख कर अधिकृति धनीराम शर्मा भट्टराईले भने, ‘सिएमसी सम्पर्कमा आए सहमतिमा भ्याट निर्धारण हुन्छ। अन्यथा कार्यालयले १८ करोड रुपैयाँ असुलीका लागि प्रक्रिया अगाडि बढाउने छ।'
भ्याट असुलीका लागि कार्यालयले दोस्रो चरणमा मेलम्ची खानापानी आयोजना र खानेपानी मन्त्रालयलाई धरौटी रकमबाट भ्याट बापतको रकम भुक्तानीका लागि पत्र लेख्ने उनको भनाइ छ।
सिएमसीले मंसिर तेस्रो साता नै आयोजनाको ठेक्का सम्झौता रद्द गर्ने सूचना दिएको थियो। पुस १ मा कम्पनीका कर्मचारीहरु भाग्ने तयारी गरेपछि सरकारले ८ जनाको राहदानी खोसेको थियो। आयोजना निर्माणको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेका बेला ठेकेदार कम्पनीका नेपालस्थित प्रतिनिधिहरू काम छोडेर भाग्न लागेपछि सरकारले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
खानेपानी मन्त्रालयले यसबारे विभिन्न पक्षसँग परामर्श गरेको थियो। तर, त्यसबाट कुनै निष्कर्ष आउन नसकेपछि यस्तो निर्णय गरेको हो।
ठेकेदार कम्पनीको बैंकमा धरौटीबापत करिब ३ अर्ब रुपैयाँ रहेको र कम्पनी सहमतिमा नआए सोही रकम जफत गरेर काम अघि बढाउने तयारीमा सरकार रहेको छ।
सुरुङको बाँकी कामका लागि आयोजनालाई करिब २५ करोड रुपैयाँ भए पुग्ने अनुमानअनुसार सिएमसीले काम छोडेपनि लागत रकममा थप भार नपर्ने मन्त्रालयको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।