काठमाडौं- राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्रीले हतारमा गरेको लगानी सम्मेलनको प्रभाव कम हुने टिप्पणी गरेका छन्। नेपाल लाइभसँग कुरा गर्दै पूर्व उपाध्यक्ष क्षेत्रीले श्रोत साधनले नभ्याउने भएपछि विदेशी लगानी खोज्नु स्वभाविक भएको तर यस्ता काम हतारमा हुँदा वास्तविक मर्म पूरा नहुने टिप्पणी गरेका हुन्।
लगानी सम्मेलन २०७५ को पूर्वसन्ध्यामा सरकारले गरेको तयारीलगायतका विषयमा कुरा गर्दै उनले सरकार कम इमानदार भएको बताए। 'प्रधानमन्त्री आफैले लगानी सम्मेलनपछि मन्त्री परिषद हेरफेर गर्ने भनिरहँदा यही मन्त्री परिषदले सबै काम गर्न किन खोजिरहेको हो भन्ने प्रश्न आउँछ,' क्षेत्रीले भने, 'नियम कानुनहरु अहिले बल्ल पारित हुँदैछन्। हामीले लगानीकर्तालाई हाम्रो नियम कानुन यस्तो छ है भनेर पहिल्यै जानकारी गराउन सकेको भए हुन्थ्यो। हतारमा लगानी सम्मेलन गर्ने भनियो। हाम्रो आफ्नै तयारी नै पुगेको जस्तो लागेन।'
विदेशी लगानीकर्तालाई नेपालमा सबैभन्दा ठूलो झन्जट भनेको प्रकृयागत र प्रशासनिक झन्झट भएको समेत उनले टिप्पणी गरे।
'हामीले एकल बिन्दु सेवा भनेका छौं। तर लगानीको परिमाण हेरेर फरक फरक निकायले त्यसको स्वामित्व लिने भएपछि कसरी एकल बिन्दु सेवा भयो? उनले प्रतिप्रश्न गर्दै थपे, '२५ अर्ब रुपैयाँभन्दा माथिको लगानी प्रधानमन्त्री स्वयंले हेर्ने ६ अर्ब भन्दा माथिको लगानी बोर्डले हेर्ने जस्ता प्रावधान राखेर एकल बिन्दू सेवा भन्न सुहाउँदैन। ३ करोड जनसंख्या भएको मुलुकमा विदेशी लगानीकर्तालाई कतिवटा भान्सा लगानउनुपर्ने हो?'
लगानी बोर्डले सम्मेलनका लागि तयार पारेका प्रोजेक्ट बैंंकहरु पनि सामान्यस्तरबाट छलफल गरेर मात्र ल्याइएका छन्।
'आयोजनाहरुको विस्तृत अध्ययन र संभाव्यता अध्ययन पनि भएका छैनन्। लगानीकर्तालाई यी यी क्षेत्रमा चाँहि लगानी गर्न सकिन्छ है भनेर बाटो देखाएजस्तो मात्रै भयो। ती आयोजनाको विस्तृतमा अध्ययन भएर त्यसका डकुमेन्टहरु पनि लगानीकर्तालाई जानकारी गराएको भए उनीहरु पनि विस्वस्त हुन्थे,' उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।