काठमाडाैं- नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले मुलुकलाई समृद्ध बनाउन राष्ट्रिय सहमतिका साथ अघि बढ्न सरकारलाई आग्रह गरेका छन्।
पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले वस्तु तथा सेवाको उत्पादनमा जोड दिएर आवश्यक योजना बनाउन पनि सरकारलाई सुझाव दिए। आइतबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले तत्कालका निम्ति राष्ट्रिय औद्योगिक पुँजीमा जोड दिएर मात्रै समाजवादाेन्मुख अर्थतन्त्र निर्माण हुने भएकाले सोही अनुसारको योजना बनाउन पनि सरकारलाई सचेत गराए।
संयोजक भट्टराईले राष्ट्रिय पुँजी निर्माणका लागि सरकार र निजी क्षेत्रले मिलेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे। उत्पादन र उत्पादकत्व बढाएर मात्रै राष्ट्रिय पुँजीको निर्माण गर्न सकिने संयोजक भट्टराईको भनाइ छ।
संयोजक भट्टराईले राष्ट्रिय पुँजीको विकास गरेर मात्रै सामाजिक सुरक्षाको दायरालाई बढाउन सकिनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले ५ वर्षभित्र मुलुकमा दोहोरो अंकको आर्थिक वृद्धि हुने दीर्घकालीन सोचसहितको १५औं योजनाको खाका प्रस्तुत गरेका थिए। खाकामा एक वर्षभित्र करीब १ हजार मेघावाट जलविद्युत उत्पादन गर्ने उल्लेख गरिएको छ।
तामाकोसी जलविद्युत आयोजनालगायतका आयोजना सम्पन्न हुने भएकाले एक वर्ष भित्र करीब १ हजार मेघावाट थप विद्युत उत्पादन गर्ने योजना तय गरिएको पनि राष्ट्रिय योजना आयोगका सहसचिव खोमराज कोइरालाले जानकारी दिए।
आयोगले तयार पारेको १५औं योजनाको मस्यौदामा मुलुकलाई समृद्ध बनाउन वैदेशिक लगानी भित्र्याउन जोड दिने पनि उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।