काठमाडौं- रिक्त २ सय ६८ रोजगार संयोजकका लागि ९ हजार ८ सय ७४ जनाकाे दरखास्त परेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक स्थानीय तहअन्तर्गत सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रही कामकाज गर्ने गरी करारमा पदपूर्ति गर्ने प्रयोजनका लागि गत फागुन ३० गतेदेखि आवेदन माग गरेको थियो।
शनिबार अपराह्न ५ बजेसम्म प्रदेश १ बाट २ हजार २ सय ५९, प्रदेश २ बाट १ हजार ४ सय २२, प्रदेश ३ बाट २ हजार १ सय २०, गण्डकी प्रदेशबाट ६ सय ३२, कर्णाली प्रदेशबाट १ हजार ८ सय ९७ र सुदूरपश्चिमबाट १ हजार ५ सय ४४ जनाको दरखास्त परेको प्रधानमन्त्री रोजगार कार्यक्रमले जनाएको छ।
श्रम मन्त्रालयले १० दिनभित्र प्राप्त दरखास्तमध्येबाट स्वचालित कम्प्युटर प्रणालीबाट रिक्त पद सङ्ख्याको तीन गुणा बराबर आवेदकको योग्यताक्रमको प्रारम्भिक सूची प्रकाशन गरिने जनाएको छ। प्रारम्भिक छनोटमा परेका व्यक्तिबाट कम्प्युटर प्रणालीबाट परीक्षा लिइनेछ।
परीक्षा उत्तीर्ण हुने रोजगार संयोजकले स्थानीय तहमा स्थापना गरिएको रोजगार सेवा केन्द्रबाट बेरोजगार व्यक्तिको सूची सङ्कलन गरी उनीहरुलाई रोजगारीको अवसरसँग जोड्ने छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।