काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले बजारमा तरलता बढाउन प्रत्येक साता कर्मचारीलाई तलब उपलब्ध गराउनुपर्ने नयाँ विकल्प अघि सारेका छन्।
गुरुङले तलब महिनामा होइन, हरेक हप्ता दिने गरी कानुन संसदबाट निर्माण गर्न बहस गर्न सुझाएका हुन्।
सरकारी र नीजिमा कार्यरत कर्मचारीहरूलाई महिनामा तलब प्रदान गर्ने व्यवस्थाले बजारमा खर्चयोग्य रकमको अभाव हुने भएकाले बजारमा तरलताको समस्या रहेको दाबी गरे।
‘वर्षमा जम्मा १२ पटक मात्र बजारमा पैसा प्रवाह हुन्छ। यसले कुनै लाभदायक प्रतिफल दिँदैन,' नेता गुरुङले भने, 'देश विकासको लागि पैसाको प्रवाह (मौद्रिक प्रवाह) बढी हुनु आवश्यक हुन्छ।’
सरकारी र नीजि तथा शिक्षकलाई सातामा तलब दिने व्यवस्थाले वर्षका ५२ साता रकम चलायमान हुने उनको ठम्याई छ।
गुरुङले विकासको गतिलाई तीब्रता दिन बहुलवादमा आधारित बहुदलीय लोकतन्त्र र मुद्रा (पैसा)लाई सुत्न दिन नहुने धारणा राखे। ‘बजारमा जति बढी पैसाको प्रवाह हुन्छ, रोजगार त्यति नै धेरै बढछ,’ उनको भनाइ छ।
मौद्रिक प्रवाहमा बढोत्तरी भए रोजगारीका अवसर सिर्जना हुने उनको दाबी छ। बजारमा आर्थिक चहलपहल बढाउन, रोजगारी सिर्जना गर्न वर्तमान तलब वितरण प्रक्रियामा परिवर्तन गर्न उनले सुझाए।
'झट्ट सुन्दा यो काम गाह्रो लागे पनि कानुन निर्माण गर्न सकिए देशको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने उनको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।