काठमाडौं- देशको आर्थिक विकासका लागि भन्दै सरकारले चैत १५ र १६ गते अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने भएको छ। सम्मेलनमा ३८ देशका ६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुनेछन्। उनीहरुले नामसमेत दर्ता गराइसकेका छन्।
सम्मेलामा झन्डै ५ दर्जन वक्ताले सम्बोधन गर्ने लगानी बोर्डले जनाएको छ। बोर्डका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनको उद्घाटन गर्नेछन्।
सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडा लगायत आधा दर्जन मन्त्रीले समेत सम्बोधन गर्ने तयारी भएको छ। सरकारले सम्मेलनका लागि भन्दै उद्योग, व्यापार, होटेल, जलविद्युत, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रमा सफलतापूर्वक व्यवसाय गरेका व्यवसायीहरुलाई सहभागी गराएको छ।
सम्मेलनमा करिब डेढ दर्जन नेपाली व्यवसायीले पनि सम्बोधन गर्ने बोर्डले जनाएको छ। सम्मेलनमा सम्बोधन गर्ने नेपाली व्यवसायीहरुमा दुई जना भने महिला पनि छन्। जसमा महासंघकी अध्यक्ष भवानी राणा र द्वारिकाज ग्रुपकी संगीता श्रेष्ठ छिन्।
सम्बोधन गर्ने व्यवसायीमा कोको?
बोर्डले सार्वजानिक गरेको वक्ताहरुको सूचीमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष सुरज वैद्य, प्रदीपकुमार श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसैगरी, सिएनआईका अध्यक्ष हरिभक्त शर्मा, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, गोल्यान ग्रुपका अध्यक्ष पवनकुमार गोल्यान, साझा यातायात पब्लिक ट्रान्सपोर्टेसनका अध्यक्ष कनकमणि दीक्षित छन्।
त्यसैगरी, बिड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुजिव शाक्य, पूर्वाधार विकास बैंकका अध्यक्ष अनुज अग्रवाल, ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति, हाइड्रो सोलुसनका प्रबन्ध निर्देशक ज्ञानेन्द्रलाल प्रधान छन्। त्यस्तै, सफल पार्टनरका प्रबन्ध निर्देशक आशुतोष तिवारी, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष अध्यक्ष भवन भट्ट लगायत पनि प्रमुख वक्ताका रुपमा रहेका छन्।
सम्मेलनमा सम्बोधन गर्ने व्यवसायीहरुले नेपालमा लगानी गर्दाको आफ्नो अनुभव सेयर मात्रै गर्ने छैनन्। विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्ने वातावरण सहज भएको भन्दै लगानीका लागि आग्रहसमेत गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।